• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न




श्रवण कुमार यादव
लमही। दाङको लमहीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा स्थानीय तह, सुरक्षा निकाय, सरोकावाला संघ संस्थाको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले गरेका कार्यहरूको जानकारी गराइएको थियो।

कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल को अध्यक्षतामा, लमही नगरपालिका अध्यक्ष जोग राज चौधरीको प्रमुख आतिथ्यता र उपाध्यक्ष लक्ष्मी योगीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा रोकथाम, ट्राफिक व्यवस्थापन, अनुसन्धान र कारवाहीका गतिविधि, पछिल्ला तीन वर्षका तुलनात्मक तथ्याङ्क, आपराधिक घटनाको विश्लेषण, आत्महत्या सम्बन्धी विवरण, साथै अपराध नियन्त्रणका लागि प्रहरीले गरेको प्रयासबारे जानकारी दिनुभयो।

उहाँले जिल्लामा हाल देखिएका लागूऔषध सम्बन्धी समस्या, नियन्त्रणमा लिइएका घटनाका आधारमा पहिचान गरिएका जोखिमयुक्त स्थानहरू, लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिहरूको उमेरगत विवरण, दाङ जिल्लामा पाइने प्रमुख लागूऔषधका प्रकार, र गाँजा उत्पादन हुने सम्भावित क्षेत्रहरूबारे समेत प्रकाश पार्नुभयो।

निरीक्षक रोकायाका अनुसार प्रहरीले लागूऔषध दुव्र्यसन रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमहरू, यस क्षेत्रमा देखिएका चुनौतीहरू, र नियन्त्रणमा सरोकारवाला निकायहरूको भूमिकाबारे समेत विस्तृत विवरण प्रस्तुत गरेको छ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण नं. २९ भालुबाङका एसपी मनोज कुमार धितालका अनुसार सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, विपद् व्यवस्थापन र राजश्व चुहावट नियन्त्रणमा उच्च जिम्मेवारी र प्रतिबद्धताका साथ प्रभावकारी रूपमा कार्य गर्दै आएको छ।

लमही नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिका र सुरक्षा निकायबाट पाउनु पर्ने सेवा गरिरहेकोे बताउनुभयो। उहाँले आपराधिक घटना सुधार केन्द्रमा राखेर नसुध्रिने र नियन्त्रण नहुने त्यसको लागि जब सम्म हामी आफू सुधार भावना राखी शिक्षाको माध्यमबाट जानुपर्ने भन्नुभयो। उहाँका अनुसार शिक्षाले व्यक्तिमा ज्ञान र विवेक पैदा गराउँछ भने चेतनाले समाजलाई सही दिशा दिन्छ। शिक्षा र चेतनाको समन्वयबाट मात्र सामाजिक सुधार, विकास र समृद्ध समाज निर्माण सम्भव छ।

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपनिरीक्षक दिपक श्रेष्ठले हामीले समाजमा निरन्तर शान्ति सुरक्षा प्रवाहका लागि खटिरहेको भन्नुभयो। उहाँले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रमुख जिल्ला अधिकारी ज्यूको निर्देशन अनुसार जिल्ला सुरक्षा समिति, स्थानीय पालिकाहरूको राय सल्लाह सुझाव अनुसार, समाजमा घट्ने घटनाहरू नियन्त्रण, काम र कारबाहीको विषयमा प्रहरी मात्रै नभएर सबै सरोकावालाहरूकोे भूमिका रहने बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा प्रस्तुत गर्नुभएकोे थियोे। विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधि तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूको लगायतका उपस्थिति रहेको थियो।

Facebook Comments