• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकारले आस्था होइन, तथ्य बोल्नुपर्छ : अध्यक्ष विष्ट




तुलबहादुर कवँर मगर
भालुवाङ, २४ असोज। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारहरूलाई राजनीतिक आस्था भन्दा माथि उठी सत्य र तथ्यका आधारमा समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिनुभएको छ।

राप्ती प्रेस मञ्चले तिहार, छठलगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मञ्चको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले पत्रकारले आस्थाकाे आधारमा नभई तथ्य बोल्नु पर्ने धारणा राख्नुभयो।

उहाँले पछिल्लो समय खोज पत्रकारिता भन्दा पनि सामाजिक सञ्जालमा देखिएको कुनै स्टाटसलाई आधार बनाएर समाचार लेख्ने प्रवृत्ति बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्तो अभ्यासले समाजमा भ्रम र मानसिक समस्या उत्पन्न भइरहेको बताउनुभयो।

“पत्रकारितामा निष्पक्षता र सत्यता नै मूल धर्म हो। राजनीतिक आस्था एकातिर राखेर समाजलाई सही सूचना दिन सक्नु नै साँचो पत्रकारिता हो,” अध्यक्ष विष्टले भन्नुभयो।

अध्यक्ष विष्टले राप्तीका पत्रकारहरूलाई राप्तीकै गौरवका रूपमा लिँदै फरक विचार भएका जनप्रतिनिधिहरूलाई राजनीतिक कारणले खुइलाउने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो।

त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पत्रकारिताको धर्म, जिम्मेवारी र मर्यादाप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले महासंघले जिम्मेवार र मर्यादित पत्रकारिता सँगसँगै पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिनुभयो।

बस्नेतले सञ्चार माध्यम बलियो नभएसम्म लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै, “लोकतन्त्र बलियो नभए आर्थिक, सामाजिक र सांस्कृतिक समस्या देखा पर्छन्, त्यसैले सञ्चार माध्यम बलियो बनाउनु आजको आवश्यकता हो,” भन्नुभयो।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका मुख्य संरक्षक महेश रिजाल, सल्लाहकार बासुदेव न्यौपाने, जमिर शाह, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य शान्ता खनाल, रेडियो नेपालका दाङ प्रतिनिधि टेकराज भण्डारी, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवँर मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

मञ्चकी महिला उपाध्यक्ष हुमा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।
यसैबीच, मञ्चले स्थापना दिवसको अवसरमा राप्ती गाउँपालिका–८ मिलनडाँडा, कोहलुवास्थित निलसागर सेवा आश्रममा फलफूल वितरण गरेको थियो। अध्यक्ष अर्जुन अधिकारी नेतृत्वको टोलीले आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीलाई फलफूल हस्तान्तरण गरेको थियो।

Facebook Comments