मध्य चीनमा भेटिएको करिब दस लाख वर्ष पुरानो मानव खोपडीसम्बन्धी नयाँ अध्ययनले मानव परिवारको वंशवृक्षमा पहिले अज्ञात रहेको एउटा शाखा उजागर गरेको छ, जसले मानव उत्क्रान्तिको मान्य समयरेखालाई निकै पछाडि धकेलेको छ।
यस सातामा साइन्स जर्नलमा प्रकाशित अध्ययनले “युनसियन–२” (Yunxian 2) भनेर चिनिने उक्त जीवाश्मलाई होमो लङ्गी (Homo longi) वा “ड्रागन म्यान” वंशको प्रारम्भिक सदस्यका रूपमा पहिचान गरेको छ र प्रारम्भिक मानव वंशहरूबीचको विभाजन पहिले सोचिएभन्दा धेरै पहिलेदेखि भएको निष्कर्ष निकालेको छ।
सन् १९९० मा हुबेई प्रान्तको युनसियन काउन्टीमा फेला परेको यो खोपडी जीवाश्मीकरण प्रक्रियामा च्यापिएको अवस्थामा भेटिएको थियो, जसका कारण विस्तृत विश्लेषण गर्न कठिन भएको थियो। सुरुमा यसलाई करिब उन्नाइस लाखदेखि एक लाख दश हजार वर्षअघि बाँच्ने होमो इरेक्टस (Homo erectus) प्रजातिमा वर्गीकृत गरिएको थियो। तर चीनको विज्ञान अकादमी अन्तर्गतको भर्टिब्रेट पेलियोन्टोलोजी तथा पेलियोएनथ्रोपोलोजी संस्थानका अनुसन्धानकर्ताले विस्तृत डिजिटल पुनर्निर्माणपछि यसलाई नयाँ वर्गीकरणमा ल्याएका हुन्।
उच्च-रिजोलुसन CT स्क्यान र त्रि-आयामिक (3D) स्क्यानमार्फत उनीहरूले चिरा, खनिजले भरिएका भाग र बाँकी रहेका अस्थि टुक्राहरू पत्ता लगाए। त्यसपछि खोपडीको आकार नाप्न सयौं ज्यामितीय बिन्दु र शारीरिक विशेषताहरूको विश्लेषण गर्दै डिजिटल प्रविधिबाट टुक्राहरूलाई पुनः जोडे। नयाँ प्रविधिबाट पुनर्निर्मित मोडेलको विश्वसनीयता परीक्षण गर्न उनीहरूले दश हजारभन्दा बढी सिमुलेसन गरेका थिए।
पुनर्निर्मित खोपडीमा आदिम र विकसित दुवै खालका विशेषताहरू देखिन्छन्। यसमा होमो इरेक्टस वा होमो हाइडेलबेर्गेन्सिस (Homo heidelbergensis) जस्ता पुराना प्रजातिसँग मिल्दोजुल्दो निचो, पातलो निधार र बाहिर निस्किएको अनुहार छ। तर त्यहीसँगै यसमा चिल्लो गाला, फराकिलो पछाडिको भाग र एक हजार एक सय घन सेन्टिमिटरभन्दा बढी दिमागको क्षमता पनि छ।
यी विशेषताहरू होमो लङ्गी र मध्य तथा पछिल्लो प्लाइस्टोसिन (करिब एक लाख पच्चीस हजारदेखि एघार हजार सात सय वर्षअघि) का जीवाश्महरूसँग मेल खान्छन्।
“युनसियन–२” लाई आधार बनाएर अनुसन्धानकर्ताले विस्तृत होमो वंशवृक्ष तयार पारेका छन्। अध्ययनले प्रारम्भिक मानव वंशहरूको विभाजन जीवाश्म अभिलेखले देखाएकोभन्दा धेरै अघि भएको निष्कर्ष दिएको छ।
अध्ययनले देखाएको छ कि “युनसियन–२” वास्तवमा होमो इरेक्टस नभई होमो लङ्गी वंशको प्रारम्भिक सदस्य हो, जसमा डेनिसोभान (Denisovans) — करिब चार लाखदेखि तीस हजार वर्षअघि एशियामा बसोबास गर्ने, अहिले लोप भइसकेका मानव समूह — पनि पर्ने सम्भावना छ।

“यसले देखाउँछ कि करिब दस लाख वर्षअघि नै हाम्रा पूर्वजहरू विभिन्न समूहमा विभाजन भइसकेका थिए, जसले हाम्रो उत्क्रान्तिको इतिहास पहिले विश्वास गरिएको भन्दा धेरै जटिल बनाउँछ,” प्रमुख अनुसन्धानकर्ता नी सीजुनले भने।
होमो वंशवृक्षमा एशियामा भेटिएका अधिकांश मध्य प्लाइस्टोसिन कालका जीवाश्महरू होमो लङ्गी वंशभित्र पर्ने देखिएका छन् र आधुनिक मानवसँग साझा हालसालैको पूर्वज भएको निष्कर्ष आएको छ।
यस अध्ययनले करिब दस लाखदेखि तीन लाख वर्षअघि बीचको मानव उत्क्रान्तिको रहस्यलाई उजागर गरेको छ र मानव उत्पत्तिबारे अझै धेरै कुरा पत्ता लगाउन बाँकी रहेको स्मरण गराएको छ।
अनुसन्धान टोलीमा चीनका विभिन्न विश्वविद्यालय र पुरातत्व संस्थानका साथै लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका विज्ञहरू पनि सहभागी छन्।
स्रोतः ग्लोबल टाइम्स

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
