दाङ । प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत सेमिफाइनल चरणको समीकरण पूरा भएको छ ।
पहिलो क्वाटरफाइनल खेलमा बडहरा फुटबल क्लबले होटेल डोकोलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । अर्को खेलमा एमएफसीले नवलपुर क्लबलाई १–० गोलको संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल पुग्ने अन्तिम टिम बन्न सफल भयो । यसअघि नै गडवा फुटबल क्लब र टरिगाउँ क्लबले सेमिफाइनल स्थान सुरक्षित गरिसकेका थिए ।
प्रतियोगिता संयोजक तथा क्लबका सहसचिव गोपाल कुँवरका अनुसार शुक्रबार दिउँसो १ बजे पहिलो सेमिफाइनल खेलमा गडवा फुटबल क्लब र बडहरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा टरिगाउँ क्लब र नवलपुर क्लबबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।
युनाइटेड नयाँ बजार क्लब घोराहीको आयोजनामा घोराही उपमहानगरपालिका–१७, उखुवारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा जारी प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ । असोज ४ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको क्लबका कोषाध्यक्ष मनकाजी पुन मगरले जानकारी दिए ।

त्यसैगरी महिला फुटबलतर्फ शुक्रबार बिहान दोस्रो सेमिफाइनल खेलमा बडहरा र किड्स फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने छ । यसअघि पहिलो सेमिफाइनलमा घोराही–१७ ले लुम्बिनी फुटबल एकेडेमीलाई ७–० गोलको उत्कृष्ट जितसँगै फाइनल प्रवेश गरेको कोषाध्यक्ष पुनले जानकारी दिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
