• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाको तेस्रो जिल्ला बैठक सम्पन्न




श्रवण कुमार यादव
दाङ। अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला समितिको तेस्रो जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम आईतबार घोराहीमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नेता सबिन सीले शिक्षा, समाजवाद र राजनीतिक पुनर्गठनका विषयमा धारिलो धारणा राख्दै नयाँ वैज्ञानिक समाजवादको आवश्यकता औँल्याएका छन्।

सबिन सीले आफ्नो सम्बोधनमा भन्नुभयो, “हाम्रो पार्टीको लोकप्रियता दिनप्रतिदिन बढ्दैछ, अटोग्राफ बढिरहेको छ, तर गाउँ-गाउँमा अझै हाम्रो भौतिक उपस्थिति सुनिश्चित गर्न बाँकी छ। अब त्यो काम हाम्रो प्राथमिकता हो।” उहाँले थप भन्नुभयो, “समाज परिवर्तनको यो यात्रामा नयाँ सुन्दर सन्तान जन्मिँदैछ, जुन वैज्ञानिक समाजवादको नयाँ रूप हो। यो जनतासँग जोडिएको संघर्ष हो, बन्दुक होइन विचार नीति र स्पष्ट धारणा बोकेर अघि बढ्ने यात्रा हो।”

सबिन सीका अनुसार समाजमा अहिले बहुवर्गीय स्थिति छ, जहाँ हरेक समुदायले आफ्नो प्रतिनिधित्व खोजिरहेको छ। “पार्टी भनेको समाजको नेतृत्व गर्ने वर्गीय संरचना हो। समाजमा शोषक र शोषित वर्ग रहेको भए पनि अहिले त्यो संरचना परिवर्तन हुँदैछ र हाम्रो पार्टी बहुवर्गीय नेतृत्वको लागि तयार छ,” उहाँले स्पष्ट गर्नुभयो।

पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै सबिन सीले नयाँ कम्युनिष्ट केन्द्र निर्माणको सम्भावना बलियो बन्दै गएको बताए। “आज देशका पुराना कम्युनिष्ट दलहरू गम्भीर संकटमा छन्। हामी नयाँ धार र स्पष्ट विचारसहित अगाडि बढिरहेका छौं। हाम्रो पार्टीमा कुनै दायाँ–बायाँको द्विविधा छैन। समाजवादी एकता नै हाम्रो लक्ष्य हो,” उहाँले जोड दिनुभयो।

शिक्षा क्षेत्रलाई समेत परिवर्तनको मूल आधारका रूपमा जोड्दै उहाँले शिक्षकमाथि हुने कुनै पनि अन्याय, विभेद वा हस्तक्षेपको विरुद्धमा पार्टी सधैं बोल्ने प्रतिबद्धता रहेको व्यक्त गर्नुभयो। “शिक्षकले आफूलाई मोडेल शिक्षकका रूपमा विकास गर्नुपर्छ। विषयगत शिक्षणमा उत्कृष्टता ल्याएर विद्यार्थीलाई गुणस्तरीयरूपमा शिक्षित पार्नुपर्छ,” सबिन सीले बताउनुभयो।

दाङ जिल्लामा हालसम्म गरिएका गतिविधिहरू उल्लेख गरी कार्यक्रममा सहभागी शिक्षकहरूलाई सम्बोधन गर्दै उहाँले हाल समाजलाई बौद्धिक हस्तक्षेपको आवश्यकता रहेको उल्लेख गरे। “आजको समाजले विचारमा गहिरो हस्तक्षेप खोजिरहेको छ। त्यसमा शिक्षकहरूको भूमिका अझ महत्वपूर्ण छ। जनतासँग जोडिएर, उनीहरूको आवश्यकता बुझेर, व्यवहारमा लागेर मात्र परिवर्तन सम्भव छ,” उहाँले बताउनुभयो।

त्यस्तै बैठक कार्यक्रमका अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य विकास सीले शिक्षा र समाजवादबीचको घनिष्ठ सम्बन्धलाई जोड्दै शिक्षक संगठनको जिम्मेवारी अझ गहिरो र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षक समाजको मेरुदण्ड मात्र होइनन्, नयाँ पुस्तालाई जनवादी चेतना र प्रगतिशील सोच दिन सक्ने सबैभन्दा ठुलो शक्ति पनि शिक्षक नै रहेको बताउनुभयो।” त्यस्तै, उहाँले संगठनका सदस्यहरूलाई राजनीतिक तथा वैचारिक रूपमा सशक्त बनाउन निरन्तर प्रशिक्षण, छलफल र अभियानमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै जिल्ला बैठकमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव निर्मला डिसीले संगठनको केन्द्रिय सर्कुलर, शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धि र अहिले पारित हुन लागेकाे शिक्षा बिधेयक विषयक आन्दोलनकाे सर्कुलर लगायतका कुराहरुमा प्रशिक्षणमुलक भनाइ राख्नु भएको भएको थियो।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको उपाध्यक्ष कविता खनालले अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय समिति बैठकबाट गरेकाे निर्णयको सर्कुलरकाे बारेमा जानकारी गराउनुभएको थियो।

बैठकले सुरुमा २०६२/६३ को जनआन्दोलन र दशवर्षे जनयुद्धका क्रममा शहीद भएका ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो । त्यसपछि संगठनका गतिविधि, प्रतिवेदन प्रस्तुत, सर्कुलर वाचन, राजनीतिक तथा वैचारिक प्रशिक्षण, आर्थिक प्रतिवेदन र विविध विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला भित्रका १० वटै स्थानीय तहका शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधिहरुले रिपोर्टिङ राख्नु भएको थियो। कार्यक्रम दाङको घोराहीमा शिक्षकहरूको सहभागितामा सम्पन्न भएको हो। बैठकले संगठनात्मक समीक्षा गर्दै आगामी रणनीति निर्माणमा पनि छलफल गरेको थियो।

संगठनका जिल्ला अध्यक्ष धनिराम घर्तिमगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज सबिन सीकाे प्रमुख अतिथिमा बैठक सम्पन्न भएको थियो।

Facebook Comments