• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मानव निर्माणको मूल आधार, असल शिक्षा उत्तम संस्कार




श्रवण कुमार यादव
परिवारपछि संस्कार र संस्कार शिक्षणको अनिवार्य दायित्व शैक्षिक निकायको हो । प्रत्येक विद्यालय, प्रत्येक शिक्षालय र प्रत्येक विश्वविद्यालयले निर्धारित पाठ्यक्रमसँगै आफ्ना विद्यार्थीलाई सुसंस्कार सिकाउने काम अनिवार्य रूपमा थाल्ने हो भने वर्तमान समाजका बहुसङ्ख्यक समस्या फेदैमा समाधान भएर जानेछन् । यस सन्दर्भमा सबै पक्ष र विशेष गरी शैक्षिक संस्थाहरू अत्यन्तै संवेदनशील र जिम्मेवार हुनुपर्ने देखिन्छ।

मानौ कि तपाईं कुनै विद्यालयको शिक्षक हुनुहुन्छ । तपाईंको विद्यालयमा पढेको विद्यार्थी भोलि गएर कुसंस्कारी या निकृष्ट किसिमको भयो भने त्यस दोषको आरोप तपाईं र तपाईंको संस्थालाई पनि आउनेछ ।

यसको विपरीत तपाईंको विद्यालयमा पढेको कुनै विद्यार्थी भोलिका दिनमा एउटा प्रतिभावान् या उच्चकोटीको व्यक्ति बनेर स्थापित भयो भने त्यसको श्रेय तपाईंले पनि पाउनुहुनेछ । भोलि तपाई नै त्यस व्यक्तिको नाम र तस्बिर संस्थाको ब्यानरमा राखेर देखाउन पछि पर्नुहुनेछैन ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादव हुन् । उनी राष्ट्रपति भएको समयमा उनले एमबिबिएस गरेको भारतको चण्डीगढ मेडिकल कलेजले उनलाई एउटा विशाल कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाएको थियो । यसरी बोलाउने श्रेय आखिर कसले पायो ? शैक्षिक संस्थाले ।

यसले मात्रै गर्नेछ सर्वाङ्गीण विकास
संस्कारविहीन कोरा शिक्षाले सामान्यतया शिक्षित मात्रै बनाउँछ, व्यक्तिको सर्वाङ्गीण विकास गर्दैन । संस्कारमिश्रित शिक्षाले सुसभ्य र सुसंस्कृत हुन सिकाएपछि मात्रै मान्छेको सर्वाङ्गीण विकास हुन्छ । संस्कारसहितको शिक्षाले बालबालिकालाई बहुमुखी र प्रतिभाशाली व्यक्ति बनाउँछ । संस्कारवान् नभई शिक्षित मात्रै हुनु भनेको सुगन्धबिनाको फूल झै हुनु हो । रस बिनाको फल र प्रकाश बिनाको बत्ती जस्तै हुनु हो । जसको खासै उपयोगिता रहँदैन ।

कक्षा मात्र चढेका तर उचित संस्कार नपाएका बालबच्चाहरू पछि गएर दिशाहीन र आत्महीन हुने सम्भावना हुन्छ । कतिपय यस्ता बालबच्चाहरू मानसिक नपुंसकताको सिकार हुन बेर लाग्दैन । दुर्व्यसन र कुलतको सिकार हुने सम्भावना पनि यस्तै बालबच्चामा बढी हुन्छ ।

समुचित शिक्षा, असल संस्कार र अनुकूल वातावरण पाएको खण्डमा मानव मस्तिष्कको अधिकतम सात प्रतिशत भाग सक्रिय हुन्छ । कुनै महापुरूष महान् वैज्ञानिक या महान् दार्शनिकको पनि अधिकतम सातदेखि १३ प्रतिशत मस्तिष्क मात्रै सक्रिय भएको हुन्छ भनिन्छ । संस्कारविहीन शिक्षाले यो काम गर्न सक्दैन ।

विद्यार्थी वर्गलाई संस्कारवान् बनाउन
सांस्कृतिक क्यालेन्डरका चाडपर्व, उत्सव र राष्ट्रिय विभूतिहरूको जन्मोत्सवलाई अर्थपूर्ण तरिकाले मनाउने योजना प्रत्येक विद्यालय, क्याम्पस र विश्वविद्यालयले बनाउनुपर्छ ।

यस्ता कार्यक्रम केवल औपचारिकताका लागि मात्र होइन । विद्यार्थीको जीवनमा प्रभाव पर्ने र विशेष प्रेरणा जगाउने गरी आयोजित हुनुपर्छ ।

मानव इतिहासमा उच्चतम योगदान दिई अमर भएका अनेकौ महापुरूष छन् । तिनको जन्मजयन्ती अथवा त्यस्ता महापुरुषहरूसँग जोडिएका विशेष दिनलाई उल्लास र उत्साहपूर्वक मनाउनुपर्छ । यसले विद्यार्थी वर्गमा जीवनलाई नयाँ तरिकाले जिउने उत्प्रेरणा प्रदान गर्छ । जस्तो कि शीर्षस्थ विश्व विभूतिहरू महात्मा बुद्ध, मर्यादा पुरुषोत्तम श्रीराम, योगेश्वर श्रीकृष्ण, ईसामसी, पृथ्वीनारायण शाह, भगवान् महावीर, महात्मा गान्धी, नेल्सन मन्डेला, शङ्कराचार्य आदिका आदर्श र जीवन सम्बन्धी कुराहरू विद्यार्थीलाई जानकारी गराउनुपर्छ ।

Facebook Comments