दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले नेपालमा अनिवार्य लागू गरिएको इम्बोस्ड नम्बर प्लेट को कडा विरोध गर्नुभएको छ ।
जोशीका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनले नेपाली कला व्यवसायी, प्राविधिक तथा घरेलु उत्पादनलाई बाईपास गर्दै विदेशी कम्पनीलाई फाइदा पु¥याउने काम भएको छ । “कमिशन माफिया र सरकारी मिलेमतोमा नेपाली जनशक्ति र सीपलाई बेवास्ता गर्दै विदेशी कम्पनीलाई ठेक्का दिइनु राष्ट्रिय हित विपरीत कार्य हो,” उहाँले भन्नुभयो ।
नेपालमै उपलब्ध प्राविधिक दक्षता र सस्तो उत्पादनलाई प्रयोग गर्न सक्ने अवस्थामा रहँदा विदेशी कम्पनीलाई जिम्मा लगाइनु राष्ट्रघाती कार्य भएको उहाँको भनाइ छ । साथै, इम्बोस्ड नम्बर प्लेटमा प्रयोग भएको अंग्रेजी लिपि, नेपाली भाषा र लिपिप्रति गरिएको अपमान भएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।
अध्यक्ष जोशीले थप्दै भन्नुभयो, “यो नम्बर प्लेट महँगो मात्र होइन, सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता छ । एकातिर नेपालमै सस्तोमा उत्पादन गर्न सकिने वस्तु विदेशबाट महँगो मूल्यमा ल्याउने, अर्कोतिर सर्वसाधारणमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने काम सरकारले गरेको छ ।”
“सस्तो मूल्यमा नेपालमै तयार गर्न सकिने नम्बर प्लेटलाई अत्यधिक महँगो दरमा विदेशी कम्पनीमार्फत आयात गर्नु, यसलाई अनिवार्य गर्ने निर्णयमा कला व्यवसायी र यातायात क्षेत्रका सर्वसाधारण सबै पीडित भएका छन्,” उहाँले बताउनुभयो ।
अध्यक्ष जोशीले सरकारलाई तत्काल यस विषयमा पुनर्विचार गर्न आग्रह गर्दै नेपाली सीप, प्राविधिक दक्षता र उद्योग व्यवसायलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
