शिवु खनाल
देउखुरी। तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन्।
अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ । चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ । खासमा तीज के हो ? किन मनाइन्छ ? कसरी मनाउन सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता के हो ? हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य लिला शाहले बताउनुभयो । उहाँले फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको चिन्ता व्यक्त गर्नुभयो ।
शुक्रवार देउखुरी पब्लिक अग्रेजी विद्यालयले अयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहले तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ ।’ ‘विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुस्खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको केन्द्रीय सदस्य शाहले केही वर्षयतादेखि व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको हुदाँ कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएको प्रति दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–। ‘महिनौं अघिदेखि दर खाने–खुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ । हुनेखाने वर्ग त यस्तो चलनमा रमाउलान्, हुँदा खाने वर्गले पनि देखासिकी गर्न खोज्दा समस्या जटिल हुनसक्छ । यसले समाजमा वर्गीय विभेदको नयाँ समस्या जन्माउन सक्ने कुरा प्रति पनि नजरअन्दाज गर्न सकिँदैन ।’ ‘यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ ।’
कार्यक्रममा देउखुरी पब्लिक अग्रेजी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कुमार केसीले हरितालिका तिज पर्वमा देखिएका यस्ता सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ ।’ ‘तीज पर्वलाई महिलाहरुको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।’
हरितालिका तीजको अवसर पारेर देउखुरी पब्लिक अग्रेजी विद्यालयले आयोजना गरेको तीज मिलन कार्यक्रम भव्य उत्साह र उल्लासमय वातावरणका बीच सम्पन्न भएको हो । कार्यक्रममा देउखुरी पब्लिक अग्रेजी विद्यालयका प्राचार्य भुमाण्डब केसीले हरितालिका तिज पर्वको अवसरमा पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बन्दै गइरहेको बताउनुभयो । उहाँले तीज मिलनले महिलाबीच भेटघाट, अनुभव आदान–प्रदान र एक–अर्काप्रति सहकार्यको भावना मजबुत बनाउँने बताउनुहुदैँ, तीज पर्वलाई महिलाको आत्मबल अभिवृद्धि र आपसी सद्भाव विस्तार गर्ने माध्यमका रूपमा चित्रित गरिएको बताउनुभयो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

