घोराही । दाङको घोराहीस्थित यु.एन. वि.सी. क्लबको आयोजनामा प्रथम शक्तिमान कप खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज ४ गतेदेखि लुम्बिनी फुटबल एकेडेमी मैदानमा सुरु हुने आयोजक समितिले बिहीवार घोराहीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँसहितको ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७० हजार रुपैयाँ पाउनेछन्।
खेललाई अझ प्रतिस्पर्धात्मक बनाउन व्यक्तिगत विधातर्फ पनि विभिन्न पुरस्कार राखिएका छन्। व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक (किपर), उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २ गतेसम्म ५ हजार रुपैयाँ शुल्क तिरेर दर्ता गराउनुपर्नेछ। आयोजक समितिका अनुसार दाङलगायत बाहिर जिल्ला बाट पनि टिमहरू सहभागी हुने तयारी भइरहेको छ, जसले खेललाई अझै रोमाञ्चक बनाउने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका सहसचीव एंव प्रतियोगिता संयोजक गोपाल कुवरले खेलकुद मार्फत युवाहरूलाई सकारात्मक बाटोतर्फ लैजान, फुटबल प्रतिभा पहिचान र विकास गर्न र जिल्लामा खेल पर्यटनलाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
उनीले शक्तिमान कपलाई आगामी वर्षहरूमा निरन्तरता दिँदै जिल्लाको प्रतिष्ठित प्रतियोगिता बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
