दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिनुभयाे।
मुख्यमन्त्री आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन, रुट परमिट दिनु अघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना, र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरु अनिवार्य रुपमा गर्नुपर्ने बताउनु भयाे ।`तराई, पहाड र हिमालको भूगोल अनुसार सडक मापदण्ड छुट्टा छुट्टै छन्, तिनलाई अनिवार्य पालन गर्नुपर्छ,´उहाँले भन्नुभयाे ।
उहाँले लागू औषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गर्नु भएको छ । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उहाँ भनाइ थियो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताउनु भयाे । प्रदेशले सडक गुरुयोजना निर्माण गरेकाे र त्यसले सुरक्षित सडक कायम गर्न भूमिका खेल्ने बताउनु भएको हाे ।
प्रमुख सचिव बावुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नु भयाे । भाैतिक पुर्वधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार जिम्मेवार भएर अघि बढिरहेको जानकारी दिनुभयाे ।
उद्घाटन कार्यक्रम सिनियर डिभिजनल इञ्जिनियर शंकर सिंह धामीको स्वागत मन्तव्यबाट भएको हो । सहजीकरण सुभ खनालले गर्नु भएको थियाे भने राष्ट्रिय सडक सुरक्षा परिषद्को टेक्निकल एडभाइजर सराेजकुमार प्रधानले प्राविधिक प्रस्तुति दिनुभएको थियाे ।
लुम्बिनी प्रदेशको अवस्था
गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।
विशेषज्ञका अनुसार लुम्बिनीमा दुर्घटनाको सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल दुर्घटनाले ओगटेको छ । तीव्र गति, चालकको लापरबाही र कमजोर सडक अवस्था यसका प्रमुख कारणका रूपमा देखिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
