श्रवण कुमार यादव
देउखुरी। लमहीका समाजसेवी पवन शर्मा रिजालले आफ्नो जन्मदिनको अवसरमा भोजमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा योगदान दिनुभएको छ। लमही नगरपालिका-५ का स्थायी बासिन्दा रिजालले ‘भोकालाई भोजन, प्यासलाई पानी’ अभियान सञ्चालन गर्दै आएको जय महाकाल युवा समूह लमहीलाई खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो।
उहाँले चामल, तेल, मिश्रित दाल लगायतका आवश्यक खाद्यान्न सहयोग गर्दै जन्मदिनमा हुने खर्च समाजसेवामा रुपान्तरण गर्नुभएको हो। जय महाकाल युवा समूहले लमही बसपार्कको कटहरबोटबाट करिब एक वर्षदेखि निरन्तर रूपमा निशुल्क भोजन तथा जलपान सेवा प्रदान गर्दै आएको छ।
“जन्मदिनमा भोज गरेर फजुल खर्च गर्नुको सट्टा यस्ता सामाजिक सेवामा लगानी गर्नु धेरै अर्थपूर्ण हुन्छ भन्ने सन्देश दिन चाहन्थेँ,” पवन शर्माले भन्नुभयो, “त्यही सोचले म उनीहरूको सेवा केन्द्रमै पुगेर खाद्यान्न सहयोग लिएर पुगेँ।”
समाजसेवी शर्माले पछिल्लो समय जन्मदिन मनाउने नाममा हुने खर्च र प्रदर्शनको प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ। उहाँ नेकपा (एमाले) लमही नगर कमिटीका सचिव तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पनि हुनुहुन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।