घोराही । दाङको घोराही -१५ मा रहेको दाङ भ्याली कलेजले शैक्षिकसत्र २०८२ देखि पत्रकारिता, सिए फाउन्डेसन र होटल म्यानेजमेन्ट कोर्ष सञ्चालनको तयारी थालेको छ । कलेजले मंगल बिहान कलेजकै प्रांगणमा पत्रकार सम्मेलनमार्फत थप शैक्षिक कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
दाङ भ्याली एजुकेसनल ग्रुप प्रालिका अध्यक्ष अरुण अर्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल विष्णु बञ्जाडेले शैक्षिक कार्यक्रमको बारेमा जानकारी दिँदै यस वर्षदेखि कलेजमा पत्रकारिता, सिए फाउन्डेसन र होटल म्यानेजमेन्ट सञ्चालनको तयारी थालेको बताउनुभयो । यी विषयहरुको समावेशले विद्यार्थीहरुलाई सीपमूलक, पेशामुखी र व्यवहारिक ज्ञान प्रदा गर्ने मद्दत पुग्ने समेत उहाँको जोड थियो । `२०५७ सालमा स्थापना भएको यस कलेजमा हालसम्म प्लसटुतर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकाय र स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गत बिबिएस कार्यक्रम सञ्चालनमा रहेको भन्दै अब कलेजले पत्रकारिता, सिए फाउन्डेसन र होटल म्यानेजमेन्ट कोर्ष सञ्चालनको तयारी अगाडि बढाइएको छ, उहाँले भन्नुभयो।´ साथै कलेजले नवीन सोच र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई आत्मसात गर्दै यस शैक्षिकसत्रदेखि नै बिहानी सत्रमा विज्ञान समूह अन्तर्गतको पठनपाठन सञ्चालनमा ल्याउन थालेको उहाँले जानकारी दिनुभयो ।
कलेजका प्रिन्सिपल विष्णु बञ्जाडेले शिक्षा क्षेत्रमा समर्पित एक अग्रणी संस्थाका रूपमा स्थापित यस दाङ भ्याली कलेजले बिगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र युग सुहाउँदो शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले विश्व परिवर्तनलाई आत्मसाथ गर्दै कलेजले शिक्षण सिकाइलाई आइसीटीमा आधारित प्रविधियुक्त स्मार्ट बोर्ड, प्रोजेक्टर र अनलाइन प्लेटफर्महरुका कक्षा सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । जिल्लामै उत्कृष्ट जनशक्तिद्वारा आधुनिक शैक्षिक पद्धति अबलम्बन गरी यस संस्थाले शैक्षिकसत्र २०८२ /०८३ बाट घोराही-१५ मा प्लेग्रुपदेखि कक्षा १० सम्मको पठनपाठन सुचारु गरिसकेको प्रिन्सिपल बञ्जाडेको भनाइ थियो ।
स्थापनाकालदेखि कलेजबाट उत्पादन भएका दक्ष जनशक्तिहरु बैंकिङ, इञ्जिनियरिङ, उद्योग, शैक्षिक क्षेत्रमा जोडिएर काम गर्दै आइरहेको दाङ भ्याली एजुकेसनल ग्रुप प्रालिका अध्यक्ष अरुण अर्याल बताउनुभयो । उहाँले विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै कलेजले बिहानी सत्रमा पनि विज्ञान संकायका कक्षाहरुलाई सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । प्लसटु पछि इञ्जिनियरिङ र एमबिबिएस पढ्न चाहने विद्यार्थीहरुका लागि कलेजकै समयमा फरक तयारीका कक्षाहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले कलेजले बिगतदेखिनै शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यश शैक्षिकसत्रदेखि पत्रकारिता कोर्ष सञ्चालनको तयारी थालेकोमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिता विषय पठनपाठनका लागि आवश्यक पारेमा महासंघले सदैव साथ, सहयोग र सहकार्य गर्न तयार रहेको उहाँहरुको भनाइ थियो । पत्रकार सम्मेलनको सहजीकरण संस्थापक प्रिन्सिपल सुन्दर गौतमले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
