नारायणपुर । घोराही उपमहानगरपालिका -१० नारायणपुरमा रहेको ग्रेट बुद्ध एकेडेमीले यो वर्षदेखि प्लसटु सञ्चालनमा ल्याएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलनमार्फत प्लसटु सञ्चालनको बारेमा जानकारी गराएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार शाहको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रियासनले शैक्षिक क्षेत्रको विकास नहुँदासम्म समाजको विकास नहुने भन्दै शिक्षालाई विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नारायणपुरलाई शैक्षिक हव बनाउनका लागि ग्रेट बुद्ध एकेडमीले प्लसटु सञ्चालन गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नारायणपुर सम्भावनाको खानी भएको हुँदा यस क्षेत्रलाई अगाडि बढाउन समाजको विकास हुनुपर्ने र त्यसका लागि शैक्षिक क्षेत्रलाई मजबुत बनाउनुपर्ने उहाँको जोड थियो ।
विद्यालयका प्रीन्सिपल निमानन्द गैरेले विद्यालयको बारेमा जानकारी दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्लसटु सञ्चालन ल्याएको बताउनुभयो । शिक्षामा नयाँ विधि र योजनाका साथ न्यूनतम शुल्क लिएर सुविधा सम्पन्न उत्कृष्ट शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश रहेको उहाँले बताउनुभयो । घोराहीको – ७, ८, ९, १०,११ र १२ क्षेत्रको पहुँचमा रहेको नारायणपुरमा संस्थागत विद्यालयमा प्लसटु नहुँदा विद्यार्थीहरुलाई महंगो शुल्क तिरेर घोराही र तुलसीपुर जाने बाध्यता रहेको कुरामा जोडदिँदै प्रिन्सिपल गैरेले विद्यार्थीहरुको त्यो बाध्यतालाई हटाउनका लागि ग्रेट बुद्धले प्लसटु सञ्चालन ल्याएको बताउनुभयो । नारायणपुरलाई शैक्षिक हव बनाउनका लागि
शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि विद्यार्थीलाई ६० प्रतिशत पढाइ र ४० प्रतिशत प्रक्टिकलमार्फत अगाडि बढाइने उहाँको भनाइ थियो ।
प्लसटुका संयोजक नवीन आचार्यले नारायणपुर क्षेत्रलाई एउटा विश्वासिलो शैक्षिक केन्द्रका रूपमा स्थापन गर्नका लागि यो वर्षदेखि प्लसटु सञ्चालन ल्याएको बताउनुभयो । उहाँले विद्यार्थी र अभिभावकहरुको मागलाई मध्यनजर गर्दै ग्रेट बुद्ध एकेडमीले विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन गरी चारवटा संकाय सञ्चालनमा ल्याएको बताउनुभयो । एकेडेमीले यो वर्ष विज्ञान र व्यवस्थापन संकायमा ८०/८० जना र शिक्षा र कानुनमा ४०/४० जना गरी २ सय ४० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको समेत उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको प्लसटु पश्चात्को उद्देश्य अनुसार कक्षा ११ देखि नै अतिरिक्त तयारी कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुको आन्तरिक क्षमता वृद्धि गर्ने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने शुभकामना मन्तव्य दिँदै यो विद्यालयले नारायणपुर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक गतिविधिलाई उत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । नारायणपुर क्षेत्रमा संस्थागत विद्यालयमा प्लसटु सञ्चालन हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर घोराही र तुलसीपुर पढ्न जानुपर्ने बाध्यतालाई अन्त्य हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दीपक जंग घर्तीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
