श्रवण कुमार यादव
राजपुर, दाङ । दाङको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले पालिका भित्रको “शिक्षक दरबन्दी मिलान” र “प्रधानाध्यापक व्यवस्थापन कार्यविधि” तयार भइसकेको जानकारी दिनुभएको छ।
राजपुर गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै बुढाथोकीले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य सुधार गर्ने जिम्मेवारी शिक्षकमै भएको बताउनुभयो। उहाँले, “दरबन्दी मिलानको कार्यविधि निर्माण र पास भइसकेको छ। अब प्रधानाध्यापक व्यवस्थापन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय शिक्षाका लागि संरचनात्मक सुधारसँगै व्यवहारिक कार्यान्वयन पनि अनिवार्य रहेको बताउनुभयो।”
शिक्षा क्षेत्र सुधारको अभियान स्वरूप आज सम्पन्न भएको आधारभूत तह कक्षा ६, ७ र ८ का लागि प्रश्नपत्र निर्माणसम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले – “शिक्षण सिकाइ सुधारका लागि शिक्षकहरू नै अग्रपंक्तिमा हुनुहुन्छ। गाउँपालिकाले नीतिगत स्पष्टता ल्याउँदै स्वयम् सेवक शिक्षक अनुदानका लागि बजेटसमेत तयारी गरिरहेको छ। यसले शिक्षकहरूको सेवा सुविधा सुधार गर्ने र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्नेछ। अब शिक्षकहरूले तालिममा प्राप्त ज्ञानलाई कार्यान्वयनमा ल्याउनु आवश्यक छ”- भन्नुभयो।
राजपुर गाउँपालिकाको आयोजनामा र सनस्टोन ग्रुप अफ बिजनेस एण्ड सर्भिसेस प्रा.लि. को प्राविधिक सहकार्यमा सम्पन्न तालिममा सहभागी मावि सिक्टाकी शिक्षिका सृजना खनालले पहिलो पटक यस्ताे तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै तालिमलाई एकदमै उपलब्धिमूलक भएकोे भन्नुभयो।
त्यस्तै शिव शक्ति मावि भौवा नाकाका प्रधानाध्यापक लिलाधर वि.क. ले – “पाठ्यक्रम, शिक्षक निर्देशिका, विशिष्टीकरण तालिका र पाठ्यपुस्तक यी चारवटा आधारलाई ध्यानमा राखेर प्रश्नपत्र निर्माण गर्दा अत्यन्त उपयोगी हुन्छ।” साथै, शिक्षा शाखा र गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै प्रश्नपत्र निर्माणको प्रक्रिया चुनौतीपूर्ण भए तापनि महत्वपूर्ण रहेको बताउनुभयो।
विज्ञान विषयका विषयविज्ञ समेत रहेका प्रशिक्षक विप्लव अधिकारीले शिक्षकहरूले अभ्यास गर्दै प्रश्न निर्माण गरेमा गुणस्तरीय परिणाम प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “शिक्षण सिकाइको यो गम्भीर विषयलाई पालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकोप्रति धन्यवाद ज्ञापन गर्दछु।”
तालिम समापन कार्यक्रमकाे सहजिकरण गर्दै साधारण नमूना मावि, सालभौरीका प्रधानाध्यापक नगेन्द्र प्रसाद यादवले तालिम सञ्चालनका क्रममा कतै त्रुटि भए क्षमा याचना गर्दै भविष्यमा ग्रिड अनुसार प्रश्नपत्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पाठ्यक्रम अध्ययनको महत्वलाई पनि स्मरण गराउँदै, “सिकाइ एकैचोटि सुधार हुँदैन, अभ्यासमार्फत सुधार गर्दै जानुपर्छ,” भन्नुभयो।
तालिममार्फत शिक्षकमाझ नयाँ ऊर्जा थपिएको प्रतिक्रिया सहभागी शिक्षकहरूले दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
