• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पाँचौं बंगलाचुली कप: क्रिकेटमा वडा नं. ४ र भलिबलमा वडा नं. ५ तथा ८ च्याम्पियन




घोराही । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले पाँचौं बंगलाचुली कप अन्तरगतको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा वडा नम्बर २ लाई पराजित गर्दै चौथो पटक उपाधि उचालेको छ।

फाइनल खेलमा वडा नम्बर ४ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिँदै ९९ रन बनाएको थियो। १०० रनको लक्ष्यसहित मैदानमा उत्रिएको वडा नम्बर २ ले ५० रन मात्र बनाउन सक्यो। यससँगै वडा नम्बर ४ पाँचौं संस्करणसम्ममा लगातार फाइनल पुग्ने र सर्वाधिक पटक उपाधि जित्ने टोली बन्न सफल भएको हो।

वडा नम्बर ४ का तर्फबाट राजेन्द्र गिरिले २३ बलमा ३ चौका सहित २७ रन, जगत नेपालीले १० बलमा १ चौका र १ छक्का सहित १८ रन, र कमल नेपालीले १० बलमा १ चौकासहित १२ रन बनाए।

बलिङतर्फ वडा नम्बर २ का शिशिर जिसीले ३ ओभरमा ३० रन खर्चिँदै ३ विकेट लिए भने शिशिर गोराथोकीले ३ ओभरमा १ मिडेन सहित २० रन दिँदै २ विकेट लिए।

वडा नम्बर २ को ब्याटिङ कमजोर देखियो। शिशिर जिएमले १० रन र शरद जिएमले १८ रन बनाए बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

वडा नम्बर ४ का बलर समीर थापाले ३ ओभरमा १२ रन दिँदै ३ विकेट लिए। त्यस्तै, अंकित पुनले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए भने कमल नेपालीले ३ ओभरमा ११ रन दिँदै १ विकेट लिए।

व्यक्तिगत पुरस्कारहरूमा पनि वडा नम्बर ४ अग्रणी

क्रिकेट प्रतियोगितामा राजेन्द्र गिरि ‘म्यान अफ द सिरिज’ घोषित भए। बेष्ट ब्याट्सम्यान वडा नम्बर ६ का चुमान वली बने भने बेष्ट बलरको उपाधि वडा नम्बर ४ कै कमल नेपालीले प्राप्त गरे।

प्रतियोगितामा विजेता वडा नम्बर ४ ले ३० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता वडा नम्बर २ ले १८ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता समितिका सदस्य सचिव तथा युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख ओम केसीले दिनुभयो।

भलिबलमा वडा नम्बर ५ र वडा नम्बर ८ च्याम्पियन

पुरुष भलिबलतर्फ वडा नम्बर ५ पहिलो, वडा नम्बर ७ दोस्रो र वडा नम्बर ६ तेस्रो भए। महिला भलिबलतर्फ भने वडा नम्बर ८ पहिलो, वडा नम्बर ७ दोस्रो र वडा नम्बर १ तेस्रो भए वडा नम्बर ३ का अध्यक्ष तथा आयोजक समिति संयोजक शोभाराज विश्वकर्माले बताउनु भयो ।

भलिबलको विजेता टोलीले २६ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थान हासिल गर्ने टोलीले १६ हजार र तेस्रो हुने टोलीले ९ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पुरुष भलिबलमा ७ वटा वडा र महिला भलिबलमा ६ वटा वडाबाट र क्रिकेटमा भने ८ वटै वडाबाट टोली सहभागी भएको वडा नम्बर ४ का अध्यक्ष तथा प्रतियोगिता समिति सदस्य डास बहादुर डाँगीले जानकारी गराउनुभयो।

खेल क्षेत्र विकासमा गाउँपालिकाको लगानी–सांसद शर्माको प्रशंसा

पुरस्कार वितरण समारोहको प्रमुख अतिथि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा दाङ क्षेत्र नम्बर २ की संघीय सांसद रेखा शर्माले बंगलाचुली गाउँपालिकाले सीमित स्रोत र साधनबीच पनि खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।

“खेल क्षेत्र देशको लागि अत्यन्त आवश्यक क्षेत्र हो। यसले शारीरिक र मानसिक स्वास्थ्य मात्र होइन, राज्यको प्रतिष्ठासँग समेत जोडिएको छ,” उहाँले भनिन्।

कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। सहजीकरण शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भक्तबहादुर जिसीले दिनुभएको थियो।

Facebook Comments