• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शैक्षिक सुधारको मूल मर्म : विद्यालयमा विद्यार्थीमैत्री शिक्षक कसरी बन्ने ?




आकाश ओली

घोराही । शिक्षा मात्र ज्ञान प्रदान गर्ने माध्यम होइन, जीवनको सही दिशा देखाउने महत्वपूर्ण प्रक्रिया पनि हो। विद्यालय भनेको बालबालिकाको भावनात्मक, बौद्धिक, सामाजिक र नैतिक विकास हुने पहिलो संस्था हो। यस संस्थाभित्र शिक्षकको भूमिका केन्द्रीय रहन्छ। विद्यार्थीमैत्री शिक्षक बन्नु भनेको विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध बनाउँदै, उनीहरूलाई सहज, सुरक्षित र सहयोगी वातावरणमा सिक्न प्रेरित गर्नु हो। आजको युगमा शिक्षण केवल पाठ्यक्रममा सीमित रहेर सम्भव छैन; त्यसैले शिक्षकहरूले विद्यार्थीका रुचि, समस्या र क्षमताअनुसार शिक्षण शैली परिमार्जन गर्न आवश्यक छ।

विद्यार्थीमैत्री शिक्षक बन्नका लागि सर्वप्रथम शिक्षकले विद्यार्थीहरूसँग आत्मीयता बढाउनु आवश्यक छ। आत्मीय सम्बन्धले सिकाइ सहज बनाउँछ। कक्षामा स्वागतयोग्य व्यवहार, मुस्कानसहितको अनुहार, सबैलाई समान अवसर दिने प्रवृत्तिले शिक्षकप्रतिको विश्वास बढाउँछ। विद्यार्थीहरूको विचार सुन्ने, उनीहरूको भावनालाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। शिक्षकको बोली र व्यवहार विद्यार्थीहरूलाई प्रेरणा दिने खालको हुनुपर्छ। जब विद्यार्थीले शिक्षकलाई आफ्नो अभिभावक, मित्र र मार्गदर्शक ठान्न थाल्छन्, तब शिक्षा प्रभावकारी बन्छ।

विद्यार्थीमैत्री वातावरण निर्माण गर्नका लागि शिक्षण पद्धतिमा नवीनता ल्याउनुपर्छ। प्राचीन शैलीको एकपक्षीय भाषणभन्दा सहभागितामूलक शिक्षण प्रभावकारी हुन्छ। शिक्षकले शिक्षणमा दृश्य–श्रव्य सामग्री प्रयोग गर्नु, समुहगत कार्य गराउनु, जीवनसँग जोडिएका उदाहरणहरू दिनु, तथा प्रश्न–उत्तरको अवसर प्रदान गर्नु पर्दछ। यसले विद्यार्थीको चासो र संलग्नता बढाउँछ। शिक्षकले प्रत्येक विद्यार्थीको सिकाइ शैली बुझेर, व्यक्तिगत ध्यान दिएर, आवश्यक परे अतिरिक्त सहायता पनि गर्नुपर्ने हुन्छ।

शिक्षकले निष्पक्षता र समता अभ्यास गर्नुपर्छ। कक्षा भित्र कुनै पनि विद्यार्थीप्रति विभेद नगरी सबैलाई समान अवसर दिनु शिक्षकको कर्तव्य हो। विद्यार्थीको जात, वर्ग, आर्थिक हैसियत वा शैक्षिक क्षमताको आधारमा व्यवहार फरक गर्नु अनुचित हुन्छ। शिक्षकले गलत विद्यार्थीलाई सजाय दिने भन्दा पनि सल्लाह दिने, गल्तीबाट सिक्ने अवसर दिने प्रयास गर्नु पर्दछ। यसले अनुशासन कायम राख्न सहयोग गर्छ भने विद्यार्थीमा आत्मसम्मान पनि बढ्छ।

अन्ततः, विद्यार्थीमैत्री शिक्षक बन्नका लागि निरन्तर आत्ममूल्यांकन, प्रशिक्षण र समय अनुसार शिक्षण पद्धतिमा रूपान्तरण आवश्यक छ। एकजना शिक्षकले आफूले सिकाउने मात्र होइन, आफू पनि सिकिरहने हो भन्ने भावना राख्नुपर्छ। विद्यार्थीको मनोविज्ञान बुझ्ने, उनीहरूको उमेर र सोचअनुसार शिक्षण गर्ने, र सबैभन्दा महत्वपूर्ण कुरा, विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने अभिभावकीय सोच राख्ने शिक्षक नै साँच्चिकै विद्यार्थीमैत्री शिक्षक हुन्। आजको विद्यालय शिक्षालाई प्रभावकारी बनाउन यस्ता शिक्षकको खाँचो विशेष छ।

( लेखक आकाश ओली मदन भण्डारी स्कूलका  शिक्षक हुन् )

Facebook Comments