श्रवण कुमार यादव
देउखुरी। नेपाल कृषि प्रधान देश हो। यहाँको जनसंख्या अझै पनि कृषि र पशुपालनमा निर्भर रहँदै आएको छन्। कृषि र पशुपालन केवल आम नागरिकको जीविकोपार्जनको माध्यम होइन आर्थिक समृद्धिको आधार पनि हो। नेपालको ग्रामीण भूगोल र सामाजिक बनोटलाई हेर्दा विकासको खाका कुनै शहरी संरचनाबाट होइन, खेतबारी र खोर जस्ता आधारभूत जीविकाका स्रोतहरूबाट सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ।
दाङ जिल्लाको राजपुर गाउँपालिका पनि यस्तै ग्रामीण क्षेत्रमध्ये एक हो, जहाँ अझै पनि आम नागरिकको जीवनशैली, आयश्रोत र सामाजिक सम्बन्ध खेतीपाती र पशुपालनमा आधारित छ। आजको समयमा जब प्रविधि, शिक्षा र अन्तर्राष्ट्रिय अनुभवले गाउँगाउँमा पाइला टेक्दैछ तब यहाँका खेतबारी र खोरहरू समृद्धिको आधार बन्नसक्ने सम्भावना अत्यन्त बलियो रहेको ठान्दछ।
खेतबारी र खोर नै परम्परा र सम्भावना
राजपुर गाउँपालिकाका हरेक घरधुरीमा खेती र पशुपालन सँगसँगै चल्दै आएको छ। विगतमा यो आवश्यकता थियो तर आज यो सम्भावना र अवसर बन्दैछ। खेतबारीमा उब्जाइने धान, मकै, गहुँ, तरकारी, फलफूल मात्र होइन, खोरमा हुर्काइने गाई, भैँसी, बाख्रा, कुखुरा जस्ता पशु स्रोतहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने आधार दिन सक्ने सम्भावना देखिन्छ। अहिलेको सन्दर्भमा यिनलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्न सकेमा राजपुर कृषि तथा पशुपालनमा आत्मनिर्भर र निर्यातमुखी पकेट क्षेत्र बन्नसक्ने स्थिति प्रबल रहेको छ।
स्थानीय स्रोत र सीपको उपयोग
विकास भन्नाले शहरीकरण मात्र होइन, स्थानीय स्रोत, सीप र संस्कृतिको संरक्षण र उन्नति पनि हो। राजपुरका मानिसहरूमा रहेको खेती गर्ने परम्परागत ज्ञान, पशुपालनमा अनुभव, मौसम र जमिन सबै विकासको बहुमूल्य पूँजी हुन्। यदि सरकार र स्थानीय तहले यहाँका नागरिक बासीहरुलाई प्रविधिसँग जोडेर अगाडि बढायो भने स्थानीय जनशक्ति विदेशिनुपर्ने आवश्यकता भने देखिँदैन।
सिँचाइ, बीउ, बजार र प्रविधि हुन् आधारभूत आवश्यकता
खेतबारी र खोरहरूबाट समृद्धिको यात्रा सुरु गर्ने हो भने केही अनिवार्य पूर्वाधार तयार गर्नुपर्ने हुन्छ। स्थायी सिँचाइ प्रणाली, गुणस्तरीय बीउ र मलको पहुँच, पशु स्वास्थ्य सेवा र सबैभन्दा महत्वपूर्ण स्थानीय स्थायी बजार जस्ता सबै पक्षमा काम हुन आवश्यक छ। कृषकले उत्पादन गर्ने मात्र हैन, उत्पादनको मूल्य प्राप्त गर्न सक्नुपर्ने अवस्था आउनुपर्छ। प्रविधिको सहायताले अब कृषकले अनलाइन बजार, एप प्रयोग, उत्पादन योजना, र मौसम भविष्यवाणी जस्ता विषयमा सजग हुन सक्ने अवस्था सिर्जना हुन थालेको छ। राजपुरका खेतबारी र खोरलाई प्रविधिसँग जोड्न सके समृद्धि टाढा छैन।
युवाशक्ति नै सम्भावनाको बलियो इन्जिन
विगतमा गाउँबाट युवा बिदेशिएका छन्। उनीहरूले आफूले कमाएको श्रमबाट केही रकम फर्काएका छन्, तर राजपुरलाई दिगो विकासतर्फ डो-याउने हो भने अब तिनै युवाहरूलाई गाउँमै अवसर दिनु आवश्यक छ। युवा लक्षित कृषि स्टार्टअप योजना, सहुलियत ऋण, तालिम, सहकारीमार्फत बजारमा पहुँच जस्ता कार्यक्रम ल्याएर उनीहरूलाई खेतबारी र खोरमै उद्यमी बन्न प्रेरित गर्न सकिन्छ। युवा फर्किए, प्रविधि लागु गरिए, र समुदाय सशक्त बन्यो भने गाउँमै विकासको चक्र सजिलै घुम्न थाल्न सक्नेछ।
सामूहिक विकासका लागि सहकारी र समूह नै मेरुदण्ड
एकल प्रयासले दीर्घकालीन र ठूलो परिवर्तन सम्भव छैन। त्यसैले सहकारी संस्था र कृषक समूहहरूले अब नेतृत्वको भूमिका खेल्नुपर्छ। राजपुरमा रहेका विभिन्न कृषक समूह, पशुपालक समूह, महिला सहकारी, दुग्ध सहकारी जस्ता संस्थाहरूले बीउ भण्डारण, मल वितरण, उत्पादन योजना र बजारीकरणमा भूमिका खेल्न थालेका छन्। यिनलाई अझ सशक्त बनाउने नीति आवश्यक छ। पालिकाले यिनै समूहलाई प्रवर्द्धन गरेर पकेट क्षेत्रको विकास गर्न सक्ने अवस्था एक्दै प्रबल रहेको छ।
संस्थागत सहयोग र नीति निर्माण
राजपुरको खेतबारी र खोर समृद्धिको स्रोत बन्न सक्छ भन्ने स्वीकार गर्दै पालिकाले पकेट क्षेत्रको अवधारणा अनुसार योजना निर्माण गर्न जरुरी छ। वडागत रूपमा तरकारी पकेट, बाख्रापालन पकेट, कागती पकेट जस्ता क्षेत्र तोकी योजना लागू गरिन थाल्यो भने समृद्धिकाे सम्भव सजिलै रहन्छ। यस्ता योजनामा प्रदेश सरकार र संघ सरकारको सहयोग थपिए पूर्वाधार निर्माण, प्राविधिक सेवा, तालिम र अनुदान कार्यक्रम प्रभावकारी बन्न सक्छन्। नीति निर्माणको क्रममा कृषकको आवाज र सुझाव समावेश गर्न सकेमा, योजना जनतासँग नजिक हुनेछ।
सांस्कृतिक र सामाजिक पक्षको संरक्षण
राजपुरको खेतबारी र खोरमा केवल उत्पादन हुँदैन, संस्कृति र पहिचान पनि हुर्किन्छ। ग्रामीण जीवनशैली, कृषि पर्व, सहकार्यको भावना र स्थानीय ज्ञान सबै समाजको मेरुदण्ड हुन्। विकास गर्दा यी पक्षहरूको सम्मान र संरक्षण हुनुपर्छ। जैविक कृषि, सामूहिक गोठ, हरित प्रविधिको प्रयोग जस्ता अभ्यासमार्फत समृद्धि र संस्कृति दुबैलाईसँगै लाग्न सकिन्छ।
यदि राजपुर गाउँपालिकाले खेतबारी र खोरलाई प्राथमिकता दिएर योजना लागू गर्न सफल भयो भने केही वर्षभित्र दुग्ध उत्पादनमा आत्मनिर्भर, तरकारी निर्यात गर्न सक्ने, कागती र केरा उत्पादनमा प्रदेशकै उदाहरणीय र बाख्रापालनमा संगठित पशु उद्यमको नमुना बन्न सक्छ।
आजको युग ‘सहरमा मात्र समृद्धि हुन्छ’ भन्ने पुरानो सोचबाट बाहिर निस्कने समय हो। राजपुरका खेतबारी र खोर जहाँ पुस्तौंदेखि कृषक र पशुपालकहरूले आफ्नो पसिना सिँचेर जीवन धानिरहेका छन्, तिनै स्रोतहरूबाट अब समृद्धिको नयाँ अध्याय सुरु गर्न सकिन्छ। अब मात्र आवश्यक छ भने नीति, सहकार्य, प्रविधि र जनसहभागिता। विकासको लहर अब शहरबाट होइन, राजपुरको माटो, खेतबारी र बाख्राका खोरबाट उठाउनुपर्छ।
राजपुरको खेतबारी र खोरहरू केवल जीविकोपार्जनको माध्यम होइनन्, अब भएकोे सम्पत्तिको प्रयोग गरेर गाउँको आर्थिक क्रान्ति थाल्ने मुहान हुन्। यदि हामीले यो अवसर चुकायौँ भने, फेरि शहरको मोहमा भुलेर गाउँ रित्तिनेछ। राजपुरको विकास अब शहरीकरण होइन, गाउँमै नवप्रवर्तन र दिगोपनको मार्गबाट सम्भव छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।