दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सञ्चालन गरिरहेको मध्यमाहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान आजबाट कर्णाली प्रदेशमा प्रवेश गर्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई स्वागत गर्न दैलेखस्थित चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा विशेष कार्यक्रमको तयारी गरिएको माओवादी केन्द्र दैलेखले जनाएको छ।

स्वागत कार्यक्रममा बाजागाजा, स्थानीय झाँक्री तथा सांस्कृतिक झाँकीहरू सहित सहभागिता रहनेछ। बिहान १० बजेदेखि नै स्वागतका लागि तयार रहन माओवादी केन्द्र दैलेखले आह्वान गरेको छ।
कर्णाली प्रवेशसँगै आजै दैलेखको सदरमुकाममा विशेष जनसभा कार्यक्रम तय गरिएको छ।
पार्टीले तय गरेको कार्यक्रमअनुसार जेठ ५ गते जाजरकोटको खलङ्गामा जनसंवाद, जेठ ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद कार्यक्रम हुनेछ।
त्यसपछि जेठ ७ गते पूर्व रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा हुनेछ। जेठ ८ गते बागलुङ, ९ गते पर्वतको कुस्मा र १० गते कास्कीको पोखरामा जनसभा गरी पश्चिम खण्डको अभियान समापन गरिनेछ।
माओवादी केन्द्रले अभियानमार्फत स्थानीय जनतासँग प्रत्यक्ष संवाद, जनचासोका विषयमा अन्तरक्रिया र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
