• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा प्रेरणा तथा प्रार्थना कार्यशाला सम्पन्न




तुल बहादुर कवँर मगर
मसुरीया। दाङको राप्ती गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका लागि उत्प्रेरणा अभिवृद्धि तथा बिहानको सांगीतिक प्रार्थना व्यवस्थापनसम्बन्धी कार्यशाला सोमबार सम्पन्न भएको छ।

गाउँपालिकाले शिक्षकहरूको मानसिक सशक्तिकरण, पेशागत चेतनाको अभिवृद्धि र विद्यालय वातावरणमा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो।

कार्यक्रमका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सकारात्मक सोच, आत्मअनुशासन र निरन्तर उत्प्रेरणाले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताउँदै विद्यालयलाई सिर्जनात्मक केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

“शिक्षकमा सकारात्मक सोच र निरन्तर उत्प्रेरणा रहने हो भने विद्यालय सिर्जनात्मक केन्द्र बन्न सक्छ,” अध्यक्ष विष्टले भन्नुभयो, “यस्ता तालिमहरूले शिक्षालाई भावनात्मक र व्यावसायिक दुवै दृष्टिकोणबाट सुदृढ बनाउँछन्।”

कार्यशालामा कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलका खेलकुद तथा सांगीतिक व्यायाम (पीटी) प्रशिक्षक एवं सामाजिक अभियन्ता हरिश वलीले प्रशिक्षण दिनुभएको थियो। उहाँले बिहानको समयलाई टोलीगत अभ्यास, प्रेरणादायी गीत–संगीत र शारीरिक व्यायामसँग संयोजन गर्दै विद्यालय वातावरणलाई ऊर्जाशील बनाउने विविध उपायहरू सिकाउनु भएको थियो।

तालिममा सहभागी शिक्षकहरू ध्रुव मल्ल, जिवराज शर्मा, सविता चौधरीलगायतले तालिमले आफूहरूमा आत्मशुद्धि, पेशागत उत्साह र जिम्मेवारीको भावना थप बलियो बनाएको बताउनुभयो।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकका अनुसार तालिमले विद्यार्थीको शैक्षिक नतिजामा सुधार ल्याउने, अनुशासनको विकास गर्ने र सम्पूर्ण विद्यालय समुदायमा उत्प्रेरणा जागृत गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

समापन कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनालले गर्नुभएको थियो। गाउँपालिकाले यस्ता तालिमहरूलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।

Facebook Comments