• १ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार हत्याको विरोधमा महासंघले सरकारलाई बुझायो ध्यानाकर्षण पत्र




निराजन सिर्पाली 

रूकुम पूर्व । गत शुक्रबार १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकारकाे मृत्युसँगै विभिन्न सञ्चारमाध्यमहरूमा भौतिक क्षति भएपछि नेपाल पत्रकार महासंघका सबै जिल्ला शाखाहरुले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

साेमबार साेही क्रममा केन्द्रकाे निर्देशन अनुसार नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाले पनि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा पुगेर महासंघका उपाध्यक्ष जमुना गौतम, सचिव निराजन बि.क. सिर्पाली, पत्रकारहरू बिशाल घर्ती मगर, किस्मत शेर्पाली र बिमल बि.क. लगायतको टाेलिले सहाय प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हाे । महासंघले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही र मृतक पत्रकारकाे परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार भएको राजावादीहरूकाे हिंसात्मक प्रदर्शनमा आक्रमण हुँदा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन पत्रकार सुरेश रजककाे मृत्यु भएको थियो । आन्दोलकै क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँ तलामा आगो लगाउनुको साथै, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुगेको थियो । त्यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा पनि तोडफोड भएको थियो । साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको थियो भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराको थियो ।

महासंघले उक्त घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न, पीडित पत्रकारहरूलाई न्याय दिलाउन र पत्रकार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले ध्यानाकर्षण पत्रमा प्रेस स्वतन्त्रताको रक्षा गर्न राज्य गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काले नेपाल पत्रकार महासंघ, रुकुम पूर्वद्वारा बुझाइएको ज्ञापनपत्रबारे प्रशासन गम्भीर रहेको बताउनुभएकाे छ । उहाले पत्रकारमाथि भएको आक्रमणको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीहरूमाथि आवश्यक कारबाहीकाे प्रक्रिया अघि बढाइनुपर्नेमा जाेड दिनुभयाे । सहायक प्रमुख जिल्ला अधिकारी खड्काले पत्रकार महासंघका मागहरूबारे माथिल्लो निकायलाई तत्काल जानकारी गराउने बताउनुभएको छ ।

उहाले भन्नुभयाे, “प्रशासन स्वतन्त्र प्रेसको संरक्षणप्रति प्रतिबद्ध छ । पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरू गम्भीरतापूर्वक लाग्नुपर्छ ।”

Facebook Comments