घोराही । घोराही उपमहानगरपालिका–१४ स्थित शुभप्रभात माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको विषयको चौतर्फी विरोध भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भानसिंह बुढाको नेतृत्वको समूहले कुटपिट गरेको प्रअ रुद्र बुढाले बताउनुभएको छ ।
बुधबार विद्यालय व्यवस्थापन समिति गठनका क्रममा गणपूरक सङ्ख्या नपुगेपछि गठन प्रक्रिया अर्को दिन सार्न खोज्दा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बूढा नेतृत्वको समूहले आफूमाथि हातपात गरेको प्रअ रुद्र बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार गणपूरक संख्या नपुगे पनि विव्यस गठन गर्न खोज्दा विरोध गरेपछि आफूमाथि हातपात भएको पीडित प्रअ बुढाले बताउनुभयो । उहाँले टाउको, पेटलगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको बताउनुभयो ।
प्रधानाध्यापक कुटपिटको शुभप्रभात माध्यामिक विद्यालयका शिक्षकहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन । उनीहरूले नियमानुसार काम काम गरिरहेको प्रअलाई विद्यालय पोशाकमै कुटपिट भएको भन्दै शिक्षकको जीउधन सुरक्षाको माग गरेका हुन । दोस्रो चोटिसम्म पनि ५१ प्रतिशत अभिभावक नपुगेपछि तेस्रो भेला बोलाइएको र तेस्रो भेलामा पनि अभिभावक संख्या गणपुरक नपुगेपाई वडा अध्यक्ष लगायत उपस्थितिले माइनट लेख्न दवाव दिएको र प्रअले कानुनको आधारमा नमिल्ने भनी अर्को भेला बोलाउने भन्ने विषयमा विवाद उत्पन्न भएको शिक्षकले जनाएका छन । ‘शुभ प्रभात माविका प्रअ रूद्र बुढा मगरलाई विद्यालय आँगनमै युनिफर्ममा कुटपिट भई हमला भएकोले जुनसुकै विषय भएतापनि अश्लिल शब्द, अमानवीय व्यवहार प्रयोग गर्दै हात पात समेत भएकोले विद्यालयको प्रधानाध्यापक प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी लाई कानुनी कारवाही गर्नको लागि माग गर्दै विद्यालयका सम्पूर्ण शिक्षकको ऐक्यवद्धता जाहेर गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै विद्यालयमा शान्ति सुरक्षा कायम गरी अध्यापन गराउने वातावरण सिर्जना गरिदिनको लागि सरोकारवाला पक्ष सँग माग गर्दै आम शिक्षकको जीउधनकाे सुरक्षाको लागि ध्यानाकर्षण गर्दछौँ ।’
यसैबीच प्रअ दुर्व्यवहारप्रति नेकपा (विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन, जिल्ला समिति दाङले प्रेस विज्ञप्ति मार्फत गम्भीर आपत्ति जनाएको छ । संगठनद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार घटनामा संलग्नहरूद्वारा गम्भीर दुर्व्यवहार भएको भन्दै शिक्षकहरू समाजका मार्गदर्शक भएकोले तिनको सम्मान हुनुपर्नेमा, यस प्रकारका घटनाहरूले शिक्षण वातावरणलाई नकारात्मक असर पार्ने जनाइएको छ । संगठनले दोषीलाई कानूनी कारबाही गर्न माग गर्दै विद्यालयको शान्ति सुव्यवस्था कायम राख्न प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
