मधुसूदन गिरी
कमिरेचौर । बंगलाचुली गाउँपालिका-३ मा अवस्थित माध्यमिक विद्यालय भेडाबारी मुलाबारीको ४६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर रानाको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष पुनले गाउँपालिकाले शिक्षा सुधारलाई प्राथमिकता दिँदै सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा लगानी गरेको बताउनुभयो। साथै, शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकहरू एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रविधिको सही प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले मोबाइल फोनको सकारात्मक उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले शिक्षकहरू एकताबद्ध भएर प्रयास गरेमा शैक्षिक सुधार सम्भव हुने धारणा राख्नुभयो। भौतिक संरचना पर्याप्त भए पनि विद्यार्थी सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो।
कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा प्रवक्ता शोभाराज विश्वकर्मा, शिक्षा शाखा प्रमुख ओमप्रकाश केसी, सामाजिक विकास समितिका संयोजक गणेश विश्वकर्मालगायतले मन्तव्य राख्नुभएको थियो।
वार्षिकोत्सव अवसरमा विद्यालयका ५३ जना पूर्वशिक्षकहरूलाई सम्मान गरिएको विद्यालयका शिक्षक शशी शर्माले जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री प्रदर्शन गर्नुका साथै साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक खगराज लम्सालले प्रस्तुत गर्नुभएको थियो। सहायक प्रधानाध्यापक दिमानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश खनालले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
