दाङ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराईका जिल्लाहरूमा अभियान चलाउने भएको छ।
‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत १ महिनासम्म अभियान सञ्चालन हुने पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।
पहिलो दिन फागुन १२ गते झापाको कचनकबल गाउँपालिकाबाट सुरु हुने बताइएको छ । अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको बनियानी बजारबाट हुँदै छ ।
पार्टी महासचिव गुरुङले भने, ‘अभियानको समापन चैत्र ७ गते कञ्चनपुरमा हुने छ । यसले माओवादीको भविष्यमा ठुलो प्रभाव पार्छ ।’ अभियान टोली दाङमा चैत ३ गते आउने भएको छ । देउखुरीको हुलाकी मार्गमा अभियान केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीले २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने समेत योजना बनाएको छ । यस अगाडि पार्टीले तीन महिने जागरण अभियान चलाएको थियो ।
‘तराई–मधेस जागरण अभियाने को टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू समावेश हुने छन् ।
यस्तै सम्बन्धित जिल्लाका र प्रदेशका नेता सांस्कृतिक टोली पनि रहने छ । अभियानमा आमसभा तथा अन्तरक्रिया समेत हुने सचिव पौडेलको भनाइ छ । उनले भने, ‘पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने’ आदि उद्देश्य लिएर जनतामाझ जाँदै छौँ ।’
पौडेलले भने, ‘पार्टी संगठनलाई स्थानीय स्तरसम्म बिस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीचको सम्बन्ध बिस्तार गर्ने योजना छ । ०८४ को तयारी पनि हो । जनताको माग छ ।’
पार्टी सर्कुलरमा पनि हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भनिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
