खेमराज न्यौपाने
नेपालमा गणतन्त्रको स्थापनाका लागि भएको जनयुद्धलाई हिंसा देख्ने एकथरि प्रवृत्ति छ । तर, नेपालमा भएका सबै परिवर्तन सशस्त्र संघर्षकै परिणाम हुन् भन्ने धेरैले भुल्ने गरेका छन् । इतिहासलाई हेर्ने हो भने नेपाली कांग्रेस आफैं पनि सशस्त्र संघर्षबाट गुज्रिएको थियो।
नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले प्रजातन्त्र ल्याउनको लागि सशस्त्र विद्रोहको बाटो अपनाएका थिए। सन् १९५० मा नेपाली कांग्रेसले भारतीय सहयोगमा मुक्ति सेना गठन गरी राणा शासनविरुद्ध सशस्त्र संघर्ष सुरु गरेको थियो। तत्कालीन अवस्थामा राणाहरूले कांग्रेस र कांग्रेसका लडाकुहरूलाई ‘आतंककारी’ भनेर प्रचार गरिएको थियो। यदि माओवादीको विद्रोहका आधारमा उनीहरूलाई आतंककारी भनिन्छ भने, नेपाली कांग्रेसको इतिहासलाई समेत पुनरावलोकन गर्नु आवश्यक हुन्छ।
माओवादी विद्रोहलाई भारतीय समर्थन रहेको भनेर आरोप लगाउने काङ्ग्रेस जनहरूले सन् १९५० को प्रजातान्त्रिक क्रान्तिमा भारतले त्रिभुवन राजा र बिपी कोइरालालाई दिएको सहयोग बिर्सिन मिल्दैन। नेपाली कांग्रेसले भारतबाट हतियार र सैनिक सहायता पाएको तथ्य ऐतिहासिक दस्तावेजहरूले पुष्टि गर्छ। यदि भारतको समर्थन पाउनु गलत हो भने, कांग्रेसको प्रजातान्त्रिक आन्दोलनलाई पनि प्रश्न गर्नुपर्छ।
सशस्त्र संघर्षको क्रममा मान्छे मारिएको, सम्पत्ति लुटिएको भन्ने आरोप माओवादीलाई मात्र लाग्दैन। नेपाली कांग्रेसले २००७ सालको क्रान्तिमा ‘मुक्ति सेना’ को नाममा विभिन्न आक्रमणहरू गरेको थियो। त्यसबेला मुक्ति सेनाका सदस्यहरूले नेपाल प्रहरीमा समायोजन पाएका थिए, जुन अहिले माओवादी लडाकुहरूका लागि भएको पुनस् सेना समायोजन प्रक्रियासँग मेल खान्छ।
माओवादीले गणतन्त्र ल्याउने आन्दोलनमा मुख्य भूमिका खेलेको हो । त्यही गणतान्त्रिक व्यवस्थामा अहिले कांग्रेसकै नेताहरू मन्त्री, सांसद, राष्ट्रपति र प्रधानमन्त्री बनेका छन्। आफ्नै इतिहासलाई बिर्सेर गणतन्त्र र जनयुद्धलाई हिंसा र आतंकको रूपमा चित्रण गर्नु दोहोरो चरित्र मात्र होइन, इतिहासप्रतिको अज्ञानता पनि हो।
अतः, सशस्त्र संघर्ष र सत्ता प्राप्तिको प्रक्रियालाई बुझ्न इतिहासलाई सही तरिकाले व्याख्या गर्न आवश्यक छ। अहिलेको गणतन्त्र कुनै एक पक्षको मात्रै उपलब्धि होइन, सबैको संघर्षको नतिजा हो। त्यसैले इतिहास बिर्सेर राजनीतिक आरोप(प्रत्यारोप गर्ने भन्दा तथ्य र यथार्थलाई आधार बनाएर समृद्ध नेपाल निर्माणतर्फ लाग्नु नै उचित हुनेछ।
नेपालमा चलेको दश वर्षको जनयुद्ध र त्यसले प्राप्त गरेको राजनीतिक उपलब्धि २००७ सालदेखि हालसम्म भएका सबै खाले संघर्षको निरन्तरता थिए । त्यो कोणबाट हेर्दा नेपालमा जनयुद्धले के परिवर्तन ल्यायो भन्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।
नेपालमा राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो। विसं २०५२–६३ चलेको माओवादी जनयुद्धले देशको राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउन मद्दत गर्यो। यसको मुख्य प्रभाव निम्न रूपमा देख्न सकिन्छ:
१. राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा योगदान
जनयुद्धले नेपालमा सामन्ती राजतन्त्रविरुद्ध जनचेतना बढायो। जनयुद्धकै प्रभावले २०६२/६३ को जनआन्दोलनलाई थप उर्जा दियो, जसको परिणामस्वरूप २०६५ मा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भयो।
२. संविधानसभाको स्थापना र नयाँ संविधान
जनयुद्धपछि माओवादी मुख्यधाराको राजनीतिमा आएर संविधानसभाको माग गर्यो। यसकै परिणामस्वरूप २०६४ सालमा पहिलो संविधानसभा गठन भयो र अन्ततः २०७२ सालमा नयाँ संविधान जारी भयो, जसले संघीयता, समावेशीता, धर्मनिरपेक्षता र लोकतन्त्रलाई संस्थागत गर्यो।
३. सामाजिक तथा वर्गीय सचेतना
माओवादी जनयुद्धले नेपालमा जातीय, लैंगिक, वर्गीय र क्षेत्रीय विभेदको मुद्दालाई राजनीतिक रूपमा उठायो। उत्पीडित वर्ग, महिला, जनजाति, मधेसी र दलित समुदायको हकअधिकारलाई सुनिश्चित गर्ने आधार तयार गर्यो।
४. संघीयता र विकेन्द्रीकरणको जग
जनयुद्धकै प्रभावले नेपालले एकात्मक राज्य प्रणालीबाट संघीय संरचनामा जानुपर्ने आवाज उठायो। अन्ततः नेपाललाई ७ प्रदेशमा विभाजन गर्दै संघीय प्रणाली लागू गरियो।
यसरी आजको परिवर्तनको जग २००७ सालको क्रान्ति हो र त्यसको उत्कर्ष जनयुद्ध हो भन्ने कदापि भुल्नु हुँँदैन । त्यसका लागि राजनीतिक इतिहासको पुनरावलोकन आवश्यक छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।