श्रवण कुमार यादव
राजपुर। राजपुर गाउँपालिकामा “सहकार्य र उत्कृष्टताः कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम” सम्पन्न भएको छ।
क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना तथा राजपुर गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न चार विधाका उत्कृष्ट व्यक्तित्वलाई राजपुर गाउँपालिकाकाे छैठो गाउँसभाकाे अवसर पारेर सम्मानित गरिएको हो।
यस सम्मान कार्यक्रम अन्तर्गत २०८० सालको एस्.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गेहेन्द्र कुमार यादवलाई उत्कृष्ट विद्यार्थीको रूपमा सम्मान गरियो। त्यस्तै शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याई २०८० सालको एस्.ई.ई. परीक्षामा सबभन्दा बढि विद्यार्थी पास गराउन सफल मा.वि. दुलैयाका शिक्षक महेश चौधरीलाई उत्कृष्ट शिक्षकको रूपमा छनोट गरिएको थियो। त्यस्तै राजपुर-३, बसन्तापुरका राम बहादुर यादवलाई उत्कृष्ट किसान तथा राजपुर-२, मटेरीयाकी कलावती चौधरीलाई उत्कृष्ट उद्यमी महिलाको रूपमा सम्मान प्रदान गरिएको थियो।
सम्मानित प्रत्येक व्यक्तिलाई रु. २५,००० नगद राशी सहित सम्मानपत्र प्रदान गरिएको थियो। कर कटौतीपछि सम्मानित व्यक्तिहरूले रु. २१,२५० प्राप्त गरेका थिए। छैठौं गाउँसभाको हिउँदे अधिवेशनको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा कृषि, शिक्षा, उद्यमशीलता, र विद्यार्थीहरूको प्रोत्साहनका लागि उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइएको छ।
कार्यक्रमको मुख्य उद्देश्य सम्बन्धित गाउँपालिकासँग सहकार्य गर्दै कृषि प्रवर्द्धन, शैक्षिक सुधार, उद्यमशीलताको विकास तथा युवा प्रेरणाको वातावरण निर्माण गर्नु रहेको कार्यक्रम अधिकृत हेम राज शर्माले बताउनुभयो। उहाँले यस सम्मान कार्यक्रममा उत्कृष्ट योगदानकर्ताहरूलाई चिनाउने तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गर्न खोजिएको समेत जानकारी दिनुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
