• ३१ बैशाख २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महोत्सवले कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्नेः मन्त्री न्यौपाने




दाङ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले महोत्सवले कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

घोराहीमा शुक्रबारदेखि सुरु भएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को उद्घाटन गर्दै मन्त्री न्यौपानेले महोत्सवले उद्यमशीलताको विकाससँगै प्रचारप्रसारमा सहयोग पुर्‍याउने बताएका हुन्।

उनले कृषि उत्पादनसँगै पर्यटकीय सम्भावना भएका स्थलहरूको विकासका लागि पूर्वाधार र प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए। “तुलसीपुरको चमेरे गुफा, घोराहीको बाह्रकुने दह, धारापानीलगायतका धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय तहले साझा धारणा बनाएर लगानी गर्नुपर्छ,” उनले भने।

मन्त्री न्यौपानेले पर्यटन प्रवर्द्धनका लागि छरिएको बजेटभन्दा सुनिश्चित सम्भावना बोकेका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। “महोत्सव मनोरञ्जनको मात्र माध्यम होइन, ज्ञान, सिप र व्यवसाय प्रवर्द्धनको पाठशाला पनि हो,” उनले भने।

महोत्सव उद्घाटन समारोहमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो।

लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माले कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन महोत्सवको मुख्य लक्ष्य हुनुपर्ने बताइन्।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्ने र आर्थिक समृद्धिका लागि कृषि, पर्यटन तथा उद्यमशीलताको विकास आवश्यक रहेको बताए।

अन्य वक्ताहरूले स्थानीय उत्पादन, पर्यटन, हस्तकलालगायतका सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्तानन्द शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, एमाले दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी दाङका अध्यक्ष विनय घिमिरे, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लभ अधिकारीलगायतले महोत्सवको सफलताको शुभकामना दिएका थिए।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकी र सचिव विकास वलीले गरेका थिए।

महोत्सवको उद्घाटनपूर्व विभिन्न जातजाति र भेषभूषा झल्कने शोभायात्रा निकालिएको थियो। शोभायात्रा दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भई बजार परिक्रमा गर्दै महोत्सवस्थल घोराही–१४ झिँगौरा पुगेको थियो।

फागुन १८ गतेसम्म चल्ने महोत्सवमा कृषि, पर्यटन, हस्तकला, लघु उद्यमसँग सम्बन्धित चार सयभन्दा बढी व्यापारिक स्टलहरू रहेका छन्।

महोत्सवको दोस्रो दिन (शनिबार) गायक राजनराज शिवकोटी, चन्द्र शर्मा, रिता केसी, अनु अधिकारी, अस्मिता गिरी, प्रेम शर्मा, सुदन थापा, राजेन्द्र चौधरीलगायतका कलाकारहरू प्रस्तुति दिनेछन्।

Facebook Comments