• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव: स्थानीय अर्थतन्त्र र व्यवसाय प्रवर्द्धनको उत्कृष्ट अवसर: संयोजक जोशी




घोराही । घोराहीमा सञ्चालन हुन थालेको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि १८ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिँगौरामा हुन थालेको छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव हुन थालेको छ । कृषि, पर्यटन तथा व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुन थालेको महोत्सवले स्थानीय कृषि तथा लद्यु उद्यमबाट उत्पादन सामग्रीको बजार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा महोत्सव मूलआयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीसँग पत्रकार लीलाधर वलीले गरिएको कुराकानीको सारसंक्षेप ।

महोत्सवको तयारी कहाँ पुग्यो ?

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव हुने स्थान घोराही उपमहानगरपालिका–१४ झिँगौरामा तारबार गरेर स्टल निर्माण, पिङ, बाल उद्यान निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । यो पटक महोत्सवमा जिल्लामा पहिलो पटक अन्डरवाटर फिस टनेल र जलपरि ल्याउँदै छौँ । सामग्री आएर त्यो पनि निर्माणको काम भइरहेको छ, समग्रमा भन्नु पर्दा अहिले ८०/ ८५ प्रतिशत काम सकिएको छ, बाँकी काम फागुनको १ गतेसम्म सकिन्छ र २ गते महोत्सव उद्घाटन भएर सञ्चालन हुने छ ।

छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवको मुख्य उद्देश्य के हो ?

दाङको व्यापार व्यवसायलाई चलायमान बनाउँदै औद्योगिक क्षेत्र निर्माणको बाँकी कार्यलाई पूरा गर्ने हो । कोरोना सङ्क्रमणका क्रममा ओरालो लागेको व्यवसाय राम्रोसँग अझै तंग्रन सकेको छैन । व्यापार व्यवसायलाई चलाएमान बनाउँदै औद्योगिक क्षेत्र स्थापनाका लागि अहिले जग्गा प्राप्तिका लागि काम भइरहेको छ । फाइल वन मन्त्रालयमा पुगेको छ । जग्गा प्राप्तिपछि पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको अवस्था बनाउन सकियो भने दाङको उद्योग व्यवसाय माथि उठ्न सक्छ भन्ने लागेको छ ।

त्यससँगै दाङमा नाप तौल कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता छ, कोइलावास नाकालाई पूर्णरूपमा खुलाउनु पर्ने छ । यी काम गर्नका लागि आर्थिक श्रोत जुटाउन आवश्यक छ । त्यससँगै स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा लद्युउद्यम र पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने महोत्सवको मुख्य उद्देश्य हो ।

अघिल्ला वर्षभन्दा यो पटकको महोत्सवमा दर्शकले के फरक पाउँछन् ?

दाङ उद्योग वाणिज्य संघले अहिले छैठाँै पटक महोत्सव आयोजना गर्न थालेको छ । त्यही भएर हामीले अहिले ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भनेका छौँ । महोत्सव व्यापार, मनोरञ्जनसँगै पर्यटन, कला, संस्कृतिसँग पनि जोडिन्छ । त्यसैले हामीले विगत वर्ष जस्तै महोत्सवमा व्यापारिक स्टल राख्ने, कलाकार ल्याएर मनोरञ्जनसँगै पर्यटन र कृषिसँग सम्बन्ध्ीित उत्पादनलाई प्राथमिकता दिएका छौँ ।स्थानीय उत्पादनलाई गत वर्षमाभन्दा अहिले बढी प्राथमिकता दिनुपर्छ भनेर कृषि र लघुउद्यमका सामग्रीका सामग्री ल्याउनका छुट्टै समिति बनाएर खोजी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँबाट किसान सम्पर्कमा आइरहनुभएको छ ।

जिल्लाका दशवटै स्थानीय तहलाई सम्पर्क गरेर पालिकामा भएका कृषि र उद्यमशिलता सम्बन्धित सामग्री उपलब्ध गराउन भनेका छौँ । ती सामग्रीलाई महोत्वसमा निःशुल्क रूपमा स्टल प्रदान गरेर राख्ने व्यवस्था गरेका छौँ । साथै मनोरञ्जनका लागि स्थानीयस्तरमा रहेका प्रतिभावान कलाकारदेखि राष्ट्रियस्तरमा रहेका कलाकार ल्याउने छौँ । साथै पिङ, बाल उद्यानका सामग्री, जिल्लामा पहिलो पटक अन्डरवाटर फिस टनेल र जलपरि पनि ल्याउँदै छौँ । जलपरि सोको माध्यमबाट दाङको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । कृत्रिम तालमा जलपरि शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष कार्यक्रम महोत्सवको प्रमुख आकर्षण हुनेछ । साथै, दर्शकले जलपरिसँग फोटो खिच्दै नयाँ ढंगले महोत्सवमा मनोरञ्जन लिने छन् ।

महोत्सवले कृषि, पर्यटन र व्यापार प्रवद्र्धनमा कसरी योगदान पु¥याउन सक्छ ?

मैले अघि पनि भने, महोत्सव व्यापारिक उत्सव हो । उत्सवमा धेरै ठाउँमा व्यापारिक हिसावले वा किनमेलनसँगै अवलोकन गर्नका लागि धेरै मानिस आउनुहुन्छ । दाङमा उत्पादन भएका तर बाहिर आउन नसकेका कृषि, हस्तकला, लद्युउद्यमसँग सम्बन्धित सामग्री भए महोत्सवका माध्यमबाट बिक्रीसँगै प्रचारप्रसार हुने विश्वास छ । विगतमा घोराही मै भएका महोत्सवले विश्वकै होचो व्यक्तिका रूपमा खगेन्द्र थापामगरलाई विश्वभरी चिनाउनका साथै दाङको बर्दिया भालेलाई चर्चामा ल्याउने काम गरेको थियो ।

दाङमा अल्लो धागोबाट उत्पादन भएका कपडाको प्रचारप्रसारमा सहयोग पु¥याउने काम गरेको छ । अहिले पनि दाङमा पनि तिल्की चामल, कात्तिके महलगायतका स्थानीय उत्पादन चर्चित छन् । यी सामग्रीलाई दाङको ब्राण्डका रूपमा विकास गर्ने हाम्रो योजना छ । त्यससँगै जिल्लामा भएका पर्यटकीय सम्भावना बोकेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सहयोग गर्नेछ । साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गर्ने तयारीमा छौँ । कृषि, हस्तकला र उद्यमशिलतालगायतका सामग्रीहरु निशुल्क रुपमा ल्याउनका लागि कृषि ज्ञान केन्द्र, सम्वन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ ।

आर्थिक रूपमा व्यापार व्यवसाय घाटामा भइरहेको अवस्थामा चलाएमान बनाउन महोत्सवले कस्तो भूमिका खेल्न सक्छ ?

महोत्सवको अवसर पारेर हामीले भारतको तुलसीपुरबाट समेत उद्योग व्यवसायीलाई निमन्त्रणा गरेका छौँ, उनीहरू आएर महोत्सवलाई हेर्ने दाङका धार्मिक तथा पर्यटकीयमा आउने वातावरण बनाउन सक्ने हो, कोरोना सङ्क्रमणका क्रममा थला परेको व्यवसाय अझै उठ्न सकेको छैन । घोराही बजारको मुख्य न्यूरोड मै अहिले पनि सटर खाली लेखिएका सूचना देख्न सकिन्छ । पछिल्लो समय व्यवसाय गर्ने वातावरण छैन भन्दै धेरै युवा विदेशिँदा त्यसको असर व्यापार व्यवसायमा परेको छ । ओरालो लागेको व्यवसायलाई माथि उठाउनका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको छ । अहिलेको महोत्सवले त्यसमा पनि थोरै भए पनि योगदान गर्ने अपेक्षा गरेका छाँै ।के पक्कै पनि व्यापार व्यवसायलाई सहयोग पुग्ने छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

महोत्सवमा स्थानीय तथा बाह्य व्यवसायीको सहभागिता कस्तो रहने छ ?

महोत्सवमा सकेसम्म हामीले स्थानीय कृषि उत्पादन, हस्तकला र लघुउद्यमका सामग्रीलाई प्राथमिकता दिएका छौँ । त्यससँगै विभिन्न जातजातिसँग सम्बन्धित कला संस्कृति, विभिन्न जातिसँग सम्बन्धित खाना, भेषभुषालगायतका सामाग्रीलाई स्टलका रूपमा राख्ने छाँै । त्यससँगै महोत्सवमा स्टल राख्न चाहने स्थानीय व्यवसायीलाई पनि प्राथमिकता दिएका छौँ । त्यसपछि मात्र बाहिरबाट आउने व्यवसायीलाई महोत्सवमा स्टल दिएका छाँै । यस हिसाबलेभन्दा महोत्समा सकेसम्म स्थानीय उत्पादन र व्यवसायिका सामग्रीलाई स्थान दिँदै छौँ ।

किसान, व्यवसायी र उद्यमीका लागि महोत्सव कसरी अवसर हुन सक्छ ?

हो, हामीले ख्याल गर्नु पर्ने महत्वपूर्ण कुरा यही हो । महोत्सव भन्ने वित्तिकै बाहिरबाट व्यवसायी आउने र व्यापार गरेर लैजाने र स्थानीय व्यवसायीलाई असर गर्ने भन्ने मात्र छ । पक्कै पनि केही न केही त असर गर्छ नै तर महोत्सवलाई उपलब्धीमूलक बनाउन पनि ध्यान दिनुपर्छ । कृषि, हस्तकला, उद्यमशिलता, जडिबुटीका सामग्रीलाई स्टलमा राखेर प्रचारप्रसार, बिक्री वितरणसँगै महोत्सवको मञ्च नजिकै डिजिटल बोर्ड स्थापना गरेर सबैलाई देखाउने गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाउँदै छौँ । यसरी महोत्सवमा ल्याउँदा पक्कै पनि राम्रो, गुणस्तरीय, आकर्षण सामग्री भए त्यसको बिक्री वितरणसँगै प्रचारप्रसारमा सहयोग पुग्ने छ ।

विगतका महोत्सवले अल्लो धागोबाट बन्ने कपडालाई जसरी आज राष्ट्रियसँगै विश्व बजारमा पु¥याएको छ । त्यसैगरी अन्य जिल्लाका उत्पादनलाई पनि बाहिर ल्याउन सहयोग खेल्ने छ भन्ने हाम्रो अपेक्षा छ । जिल्लाका महत्वपूर्ण सबै पर्यटकीयस्थलको प्रचारप्रसारसँगै महोत्सव स्थलमै स्टल राखेर व्यवसायिक सचेतनाको काम हुने छ । त्यसका लागि आन्तरिक राजश्व कार्यालय, घरेलु उद्योग कार्यालयलगायतसँग कुरा भएको छ ।

महोत्सवले जिल्लाको अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ ?

खासगरी महोत्सवको मुख्य उद्देश्य भनेकै जिल्लाको अर्थतन्त्रलाई चलाएमान बनाउने हो । व्यापार व्यवसायलाई माथि उठाउनका लागि हो । स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारप्रसारका लागि हो । त्यसका लागि बस्तुगत उपसमितिसँगै छिमेकि उद्योग वाणिज्य संघ पनि छलफल र सहकार्य गर्दै आएका छौँ । ओरालो लागेको अर्थतन्त्रलाई माथि उठाउनका लागि निजीबाट तीनै तहका सरकारसँग छलफलसँगै छिमेकि देश भारतका व्यवसायीसँग समेत छलफल गर्दै आएका छाँै ।

महोत्सवमा स्थानीयस्तरमा रहेका कलाकारदेखि राष्ट्रियस्तरमा चर्चा कमाउन सफल कलाकारलाई ल्याएर मनोरञ्जनसँगै व्यवसाय पनि हुने भएकाले आर्थिक अवस्थालाई चलायमान बनाउन सहयोग खेल्ने छ भन्ने विश्वास रहेको छ ।

उद्योग वाणिज्य संघले विगतका वर्षमा पनि महोत्सव गर्ने गर्दै आएको छ, त्यी महोत्सवले जिल्लाको व्यापारिक तथा आर्थिक क्षेत्रमा के कति योगदान गरेका छन् ?

हो, उद्योग वाणिज्य संघले विगत केही वर्षदेखि जिल्लामा महोत्सव सञ्चालन गर्दै आएको छ । जिल्लाको व्यापार व्यवसायलाई माथि उठाउनदेखि विकास निर्माण र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । साथै घोराहीबाट स्वर्गद्वारी जोड्ने सडकको ट्रयाक निर्माण, बहुउद्देश्यीय सभागृह, औद्योगिक क्षेत्र घोषणालगायत सामाजिक क्षेत्रमा काम गरेको छ ।

महोत्सवका क्रममा हुन सक्ने विपद्बाट व्यवसायीलाई बचाउन के–कस्तो सुरक्षा अपनाउनु भएको छ ?

महोत्सवमा आउने व्यवसायीको सुरक्षाका लागि बिमाको व्यवस्था गर्दैछाँै । त्यसका लागि व्यवसायीले ल्याएको सामग्रीको लगत ल्याउने र त्यसबाफत केही शुल्क व्यवसायीबाट लिने र बाँकी उद्योग वाणिज्य संघले हालेर बिमाको व्यवस्था गर्नेछौँ । त्यससँगै सुरक्षा गार्ड, स्वयसेवकसँगै सिसी क्यामेराको व्यवस्था गरेका छौँ । व्यवसायिक सुरक्षाका लागि महोत्सवमा ३५ देखि ४० वटा सिसी क्यामेरा राख्दै छौँ । सुरक्षा गार्डका लागि पूर्व प्रहरी तथा नेपाली सेनाबाट रिटाएर भएका व्यक्तिलाई जिम्मा दिएका छौँ ।

अन्त्यमा थप केही भन्नु छ ?

अहिले हामी महोत्सवको अन्तिम तयारीमा जुटेका छाँै । छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव, हाम्रा लागि उत्सव हो । उत्सवमा सहभागीताका लागि सम्पूर्ण जनतालाई यही मिडियाका माध्यम आग्रह गर्न चाहान्छु । स्थानीयस्तरमा राम्रो उत्पादन र बजारको सम्भावना भएको तर हाम्रो नजर नपुगेका कृषिसम्बन्धी उत्पादन, हस्तकलाका सामग्री, जडिबुटीलगायतका सामग्री भए सम्पर्कमा आउन समेत अनुरोध गर्दछु । साथै महोत्सवको तयारीसँगै उद्योग वाणिज्य संघका गतिविधिका बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा धेरै–धेरै धन्यवाद ज्ञापन गर्दछु ।

 

Facebook Comments