क्षितिज मगर
हिजो साँझ अबेला गाडीले लिबाङ ल्याइपु¥याएको हो । आज गाडी नचढेरै पाइतलाले बाटो चुम्ने रहरको उत्कत्ता थियो मनमा । डाँडा काँडा र पाखा पखेराको दृश्यपान गर्ने चाह थियो । पहिले हिँडेको, खेलेको माटोको सुगन्ध सँुग्ने तीब्र मोह थियो । पसिनाले सिञ्चेको यो भूगोलमा पसिनाकै रंग खोज्ने अथक उत्साह जागेको थियो । जसले उनी पैदलयात्रा गर्ने निर्णयमा पुगे ।
विहान सबेरै उनी लिबाङदेखि पश्चिमतिर लागे । चिसो मौसम । शितलो हावा । मनमोहक भौगोलिक दृश्य । त्यसै त्यसै फुरुुङ्ग थियो मन । दशकौँ वर्षपछि जन्मभूमि रोल्पा फर्कन लाग्दा त्यतिकै प्रफुल्लित र उत्साहित थियो उनको ज्यान । वर्षौँपछि कुनै परदेशी गाउँ फर्किँदा उसको मनमा उठ्ने बेजोड चञ्चलता जस्तै भनौँ, अथवा, टाढा कतै बिवाह गरी गएकी कुनै चेली वर्षौँपछि पहिलो पटक माइतीभूमि कुल्चँदा उनको मनमा उर्लेका भावनाका छालहरु जस्तै गरेर उनी भित्र निकै उथलपुथल जागेको हो । असन्तुलित मनोदशामा किन किन भावुक पनि बने । भावुकताले ओशिला थिए आँखा । भित्र कतै कोमलो भागमा नजानिँदो केही चीजले चस्काइरहेको थियो छाती ।
जलजलादेखि धाङ्सी खोला हुँदै आएको पवित्र हावाले उनको निधार चुम्यो । सरर्र स्फुर्ति बढ्यो । थामालेक र भुलुङधाराको चुचुराले पनि नजिकैबाट अँगालो मारेझैँ लाग्यो उनलाई । आत्मबल बढ्यो झन । उनैलाई कुरेर बसेझैँ लाग्ने चौडा मोटरबाटो माथि उनका जोशिला पाइला टेकिँदा उनलाई संसारकै सर्वोत्कृष्ट भाग्यमानीको अनुभूति भयो ।
“सुवास कमरेड सलाम ।”
सातताले नजिकै एक पूर्वसहकर्मीले उनलाई अभिवादन गरे ।
“ओहो ! लालसलाम ।”– उनी पनि सहकर्मी जस्तै मुस्कुराए ।
हात मिलाए, दुबैले ।
पूर्वसहयोद्धा जोशिए–
“कैले आइउ बड्डा ?”
“छक्कालै काँ जान लागिउ ?”
“घरपाइ कि कतापाइ ?”
“अरु के छ ? ….सञ्चै ?”
सहकर्मीले प्रश्नमाथि प्रश्न वर्षाए, हर्षविभोरतामा । दुबैको ओँठमा मुस्कान फुल्यो– प्रबल आत्मीयताबोधको तीब्र वेगले धकेलिएर, हौसिएर ।
सुवासले एकमुष्ट जवाफ दिए– “ठीकै छ बड्डा । बेली साँझ आ’हम् । एक फेरा घरसम्मन पुग्न परो । आबो गाउँकै सेवा गर्न पर्ला ।”
“जन्म दिने आमा र जन्मभूमि त कैल्यै भुल्नु हुन्न बड्डा ।”–सहकर्मीले सही थापे ।
अविस्मरणीय बिगतका उत्प्रेरणाले सम्वादमा डुबे केहीबेर । केही सुख– दुःखका कुरा । केही अनुभव र अनुभूतिका कुरा । जीवनका केही तीता मिठा कुरा । सारमा आत्मीयतापूर्वक भावना सातासात गरे ।
युद्धकालमा जस्तै गरी अँगालोमा बाँधिए र हात मिलाएर छुट्टिए, फेरि भेट्ने बाचा गरेर ।
किनार चुमेर वेगिएको छालझैँ सुवासले त्यहाँबाट बाटो तताए, सरासर ।
बारुदका धुँवाले आँखा छोप्दा पनि सँगै सपना देखेका थिए । गोलीका पर्रा र बमका धमाका बीच पनि अभिच्छिन्न जीवन जिएर साझा शंकल्प गरेका सहकर्मी थिए उनीहरु । संगठनले फर्मेशन फरक पारिदिएपछि सुवास चौथो ब्रिगेडमा परे । पछि नवलपरासी चौथो डिभिजनको क्यान्टोन्मेन्टबाट स्वेच्छिक अवकाश लिएर उतै छाप्रो हाली ओहपोह थन्काए । लाला बाला हुर्काए । बिताए केही हिउँद वर्खा । घुमाए जोवनको चर्खा । दशकौँ भयो उनले शेषखाल छोडेको । माडीखोलाको सुसाहतसँग जीवनको लय छुटाको धेरै भयो । त्यसपछि माडीखोलामा कति कति पानी बग्यो । सुवासले माडीखोला छाड्दा कलकलाउँदो बैँशालु उमेर थियो आफुसँग । अहिले पतै नपाइ उनको मुहारमा उमेरको धर्का बसिसकेको छ । सम्झेर लामो उच्छवास फाले– खुईँय ।
थलिबाङ मास्तिरको कुइनेटा काटे । कालो पहिरोको कालो माटोलाई पाइलामा खाप्दै अघि बढे । मुलपानीको पिपलबोटनेर टुप्लुक्क निस्कनासाथ पर्दा खोलेपछि मञ्चमा देखिने दृश्यझैँ शेषखालको सबै भुगोलको नागबेली देखिए । गर्पा, फाल्जा, ह्वामाधुरी, जङ्नाङ्खार । अलि तल मान्डीबाङ । अलि पारि टप्नाङ, दाङबाङ, रीमसक, दार्बोट नाका, घापा, घिउ पोखरा, हान्डिङ हुँदै उनको आँखा रोकियो थुर्पालेकमा । देखिए अझै अझै, अरु अरु पनि….. ।
दृश्यमा नआएको ठाउँ पनि उनले मनमनै सम्झे– ‘थुर्पा पर त छ नि तिला, दुम्ला, जुँगार, बुढागाउँ…. । … यता माडीखोलाको उभोपाइ कोर्चाबाङ, घर्तीगाउँ भाबाङ, राङसी, तालाबाङ ।’ मनको बायुपंखी घोडामा चढी छिनभरमै पुगे जताततै । मूलपानीको चिसो पानी मुखै जोतेर पिए । आहा ! मातृभूमिको पानीको स्वादै बेग्लै । यति मिठो कि मानौँ बात्सल्यपनमा पिइएको आमाको दुध समान होस । उनको शरिरमा नयाँ शक्ति संचारित भयो । अमृत जसरी सल्बलायो नशा नशामा । नयाँ स्फूर्ति र उमङ्ग छायो मनमा ।
गणतन्त्रको उपहार स्वरुप बिछ्याइएको अलकत्रामाथि धनिमानीका मोटरसाइकल र चिल्ला गाडी गुडिरहेछन् । उनी चाहीँ पिठ्युँमा सामान्य झोला बोकी चप्पल पड्काउँदै बेरोकटोक पाइला चालिरहेछन्, उही सडकको अलकत्रामाथि । वर्गीय समाजको के चित्र यो ? कस्तो बिचित्रको ?
कहीँ नबिसिइकन सिमलबाङको चिउरी फेँदको शितलमा सुस्ताए सुवास । जहाँ अघि नै आराम गरिरहेका थिए दुई बृद्धा । केही चिज हुँदो हो उनका डोकोमा । सुल्पा लिएका थिए हातमा । खर्सेको धुँवासँगै आफ्ना दुःख उदाइरहेका थिए । पसिना ओभाएका उनका अनुहारमा दुःखको लाहाछाप प्रष्ट देखिन्थ्यो । शिरको रुमालभित्रको सेतो केशले देखाइरहेको थियो उमेर खाएको याम । जसरी प्रष्ट चिनिन्छ गोधुलीको घाम ।
केही दोहोरो सम्वाद भए एकापसमा ।
सायद कुरो चल्यो– गाउँ ठाउँ, नालनाता, साइनो सम्मान, चिनजान ।
ठट्यौली पाराको कुरै कुरोमा एक बृद्धाले भनिन्– “हामरो घर टा चुटरा बजार, ऐसेलु बजार पो होइ भाई … ।”
तीनछक परे सुवास । अहिले सम्म कहिल्यै सुनेका होइनन् यी बजार । उनलाई लाग्यो, नयाँ नाम राखेछन् कुनै ठाउँको । यही ठाउँ हो उनी जन्मेर हुर्केबढेको । नाचेको, गाएको, खेलेका, यही गाउँठाउँ । यी नाउँका ठाउँ पहिले कहीँ थिएनन् । अनबिज्ञताभावमा हत्केलाको अभिनयमा उत्सुकता दर्शाए– “काँ परो यो ठाउँ ?”
“ऊः त्यैँ त हो क्यारे”– औलाले इँगित गरिन् बृद्धाले । त्यतै फर्के सुवास । प्रतिवाद गरे– “आः त्यो ता माडीचौर हो क्यारे । अहिलेको नयाँ नाम चुत्राबजार भएछ कि क्या हो ?”
“पुरानै नाम हो भाई ।”– बृद्ध महिला आफ्नो तर्कमा अडिग थिइन् ।
“खै त, यत्रो वर्ष यतै हुर्के बढेँ । पैले कैल्यै सुनिन त ।”
“यसको चाखलाग्दो किस्सा छ ।”– बृद्धा बोलिन् ।
“सप्पै था होन्च तम्लाई ज”– खिसिक्क हाँसेर उनका साथीले पनि खाम भाषिकाको लवजमा उक्साइन् ।
निकोटिनले कलेटी परेका ओँठ खोलेर किस्सावाली बृद्धा पनि प्रफुल्ल हाँसो हाँसिन् । दाँत झरेका खाली गिँजा र ब्रस नगरिएका केही सग्ला दाँतमा पनि हाँसोको प्रभाव झुल्कियो ।
“के किस्सा छ आमै ?”– सुवासको नम्र हाँसो झ¥यो ।
“पैला हाम्ले माण्डीबाङ भन्थेम्” बृद्धा बोल्न शुरु गरिन्– “पछि खसान्तेले माडीचौर लेखिदिए । चुत्रा बजार र ऐँसेलु बजारबारे फरक किस्सा जोडिएको छ, एउटा लाउरेको ।”
“ल भन्नुस आमै” सुवासको उत्सुकता पोखियो– “सुन्न रहर पो लाग्यो गाँठे ।”
बृद्धाले सालको पातमा खर्से बेरेर लाइटर बालुन्जेलसम्म त्यहाँ मौनता छायो, उत्सुकता र जिज्ञासाले भरिएको मौनता । निशब्द रहे सबै । मात्र सुसायो मुन्तिरको माडीखोला । खोलाको लयसँग बृद्धाले मुख खोलिन्– “उसबेला तल देशीको ठाउँ भारत काम गर्न जाने सबैलाई लाउरे भनिन्थ्यो । यै माण्डीबाङको एउटा चलाख लाउरे बम्बै सेँठका पास काम गर्दा रैचन् । लाउरे र सेँठको छोरी बीच मोया पिरेम गरिकन लसपस पनि गरिलेछन् । लाउरेले सेँठकी छोरीलाई मायाजालमा पारिकन ललाई फकाई ह्यैँसम्मन ल्याएछन् । अनि यति नाम्मरो माण्डीबाङलाई चुत्रा बजार, ऐँसेलु बजार भनिकन सेँठकी छोरीलाई मख्ख पारिल्याछन् ।”
छक्क परेर सुवासले प्रश्न गरे– “त्यत्रो सुखसयलकी मैँसापलाई कसरी फकाएछन् त ?”
“त्यै त किस्सा भनेको त मैले” बृद्धाले फेरि एक सर्को खर्से तानेर छेवैँको सँगीलाई हात लगाइन् । शिरको रुमालले सेतै परेका कपाल छोप्दै फेरि बोलिन्– “उईँ मोया गाँसीकन छुट्नै नसक्ने भ्यासी घरबाट निस्किलेछन् । अब जाने कता ? सेँठकी छोरीले नेपाल आउन पटक्कै मानिनछे । लाउरेले फकाई फुलाई यतापाइ उकालेछन् । कोइलाबाससम्म ता मैदानै मैदान रेलगारीमा आइछन् । अब त्याँबाट उकालो चढ्न सकिनछन् बिचरी । सेँठकी छोरीले सोधिन् रे– ‘यो के को पर्खाल ?’ लाउरेले उतरा दिए गरे– ‘यै ता हो नि नेपाल र भारतको सिमाना । यो नाघेसी उतापट्टि ता सम्म परेको देउखरी फाँट छ नि ।’
सकि नसकि कोइलाबास माथिको चुरे पहाड काटिकन देउखरी आइपुगेछन् । हँट सेँठकी छोरीले फेरि सोधिछे– ‘खै त गाडी त छैनन् त ?’ लाउरेले फेरि भनेछन्– ‘अलि माथिसम्म जाम्, त्याँदेखि माडी एक्सप्रेस, लुङ्री एक्सप्रेस भेटिन्च । बिना पैसा, बिना टिकटै जान पाइन्च ।’ खासमा चलाख लाउरेले रोल्पाबाट बग्ने माडी र लुङ्री नदीलाई पो त्यसरी अथ्र्याएका थिए ।”
“आबुई ! खतरै रैछन् लाहुरे”– मुसु मुसु हाँसे सुवास ।
बृद्धाले फेरि किस्साको पोयो बाटिन्– “कैले बसाल्दै, कैले दुखेका पाइतलामा तेल घस्दै, मोयाले सुम्सुम्याउँदै, फकाउँदै, फुल्याउँदै, मोया मोहको मोहनीले सु¥याउँदै, के को माडी–लुङ्री एक्सप्रेस न सेक्सप्रेस एक दिन दुई दिन गरिकन टक्रक्कै ह्यैँ ल्याई पु¥यालेछन् बो । जो कोई कसैको मोहनीजालमा परेसी सारा दुःख–कष्ट नि भुल्याल्चन् । सेँठकी छोरी पनि लाउरेको मोहनीमा परेसी त्यत्रो सहरको महलमा बसिर‘ने मान्छी अजङ्गको बाटो पार गरिल्याछन् नि । गाउँ पस्ने बेला साँझ अन्याँरो परिल्याथ्यो गरे । वरपर केही देखिएन । लुसुक्क घर छिरिल्याछन् । हँट लाउरेले पैलाको आफ्नै बुढीलाई दिदी पो भनेछन् । बिचरी सेँठकी छोरीले आफ्नै सौता दिदीलाई आमाज्यु भनिकन ढोग दिएछिन् । बिचरा के था ? घरमा लाउरेले पैल्यै कुरा मिलाका रैछन् ।”
दुई बृद्धाका हाँसोमा सुवासका हाँसो पनि मिसियो । गलल्ल हाँसे सबै ।
“हँट, उसबेलान् टुक्की हुन्नथ्यो बो”– हाँसो रोक्दै बृद्धाले कथा जोडिन्– “झर्को बालिकन खानपिन गरेछन् । सेँठकी छोरीले सोधिछन्– ‘खै त बजार सजार त कैँ पनि देखिन्न तो ?’
‘भोलि छक्कालै उज्याले भएसी देखिन्च, पर कुनातिर चुत्रा बजार, ऐँसेलु बजार सस्तै भेटिन्च ।’– लाउरेले बिश्वास दिलाए गरे ।…. माण्डीबाङ कुनातिर ऐसेलुका घार चुत्राका बुटा प्रसस्तै पाइन्थ्यो । त्यै झाडीलाई लाउरेले बजार भनिदिएछन् । हँट् त्यतिबेर त बिचरी सेँठकी छोरी ता मख्ख । आर्को दिन ता सत्य चीज सब देखिले बो । उनले भनेछिन्– ‘बेइमान ! किन झुट बोलेर ढाँटिउ ?’
‘हँट, तम्लाई नढाँटिकन ता आनेवालै थेइनौ ।’– लाउरेले भनेछन् । आबो न मरि जानु, न भारत फर्कि जानु । जसो तसो ह्यैँको समाजसित भेष (अभ्यस्त) परिकन जिन्नकी गुजारिल्या थे गरे, बिचरीले ।”
चुत्रा बजार र ऐसेलुबजारको किस्साबारे केहीबेरसम्म वाद– सम्वाद चल्यो त्यहाँ । अपूर्ण–सम्पूर्ण, आदि– अन्त, उदय– अवसान, नयाँ– पुराना, मानवीय भावनाका बिजय– पराजय, सामाजिक आरोह– अवरोह । बिबिध कुराकानीपछि सुवासले बृद्धाहरुसित बिदा मागेर जाने बाटो समाए । उनको मनमा तर्कनाहरु तँछाड मछाड गरेर जुर्मुराए ।
बृद्धाको किस्सा टुँगियो । सुवासको मनमा अर्को कथाको उदय भयो । उनले सोँचे– ‘लाउरेले सेँठकी छोरी फकाए जस्तै गरेर हाम्रा कथित नाइके भनिएका लाउरेले पनि हामीलाई फकाई फुल्याई यहाँसम्मको चुत्रा बजार पो ल्याइपु¥याए । भिक्ट्रन कार्ड, मान सम्मान, राष्ट्रिय सुबिधाका के के न हो गुलिया भाषणमा झुलाएर, लाउरेको माडी एक्सप्रेस र लुङरी एक्सप्रेस जस्तै कहानीमा फकाउँदै–फकाउँदै म जस्ता हजारौँ लडाकुलाई सेँठकी छोरी पो बनाए । महालाउरेहरुले हामीलाई स्वेच्छिक अवकाशको चुत्रा बजारमा ल्याएर पो पच्छारे ।’
किस्साले सिर्जना गरेको उनको मनको अन्तरद्धन्द्धले उनलाई घुमाउरो मोटर बाटै बाटो तान्दै लग्यो । मान्छे हिँड्ने बाटो छाडेर तल दोभानतिर सोझिए ।
धाङ्सीखोला र माडीखोलाको दोभान– जहाँ पुगेर सुवास अनायासै थचक्कै बसे । दशकौँ पछि उनी गाउँ फर्किँदा पनि माडीखोलाले उनलाई बेवास्ता गरेझैँ गरेर तलतिर बगिरह्यो । एकोहोरो टोलाईरहे, निर्निमेष र बेसुरझैँ । कल कल पानीको सुसाहतले उनलाई अतीतको गहिरो रसातलमा हठात् डुबाइदियो । सम्झे– बाल्यकालका रंगीन याम । उसबेलाका दौतरीहरु । माछी मारेको, पौडी खेलेको, दाउरा बटुलेको, गिट्टी कुटेको, बालुवा उठाको सबै सबै एकमुष्टमा । उफ् ! सम्झिसक्नु थिएन । अन्तरदृष्टिका ती चित्रले त्यसै त्यसै अमिलियो सुवासको मन ।
अघि बाटोमा सहकर्मीसित अँगालो मारे जस्तै गरेर ग्वाम्लुङ्ग हातले बेर्न मन लाग्यो खोलाको निर्जीव बगर र पानीलाई । बगर छाडेर उँधोतिर हतारिएको पानी जसरी बिगत छाडेर आफ्नो उमेरले आफैलाई यहाँसम्म ल्याईपु¥याएको यथार्थतालाई सम्झेर सुवास अवाक बने । पानीको गतिभित्र कतै हराइरहे निकै बेरसम्म पनि चुपचाप रहेर ।
एक अञ्जुली पानी उठाए । हेरे, गौर गरेर । कुन पानी माडीको । कुन पानी धाङ्सीको । अहँ, केही छुट्टिएन । एउटै छ पानीको बुँद । एउटै छ गुण । आफैलाई भन्छन्,– ‘फरक शिराबाट बगेको पानीको समान गुण भए जस्तै फरक समाजमा हुर्केका हामी मानव जातिको बानी, ब्यहोरा, स्वभाव, गुण किन एउटै हुन्न हँ ?’ सुवासले आफैलाई उतर दिन्छन्– ‘यहीँनेर सता, शासक र वर्ग अडिएको हुन्छ ।’
सुवास सोँचाईको आरोह अवरोह बीच थिचिए ।
मथिँगलमा बिजुली चम्केझैँ केही तर्क उठेर अघिको बृद्धाको चुत्रा बजार किस्सामा आफुलाई उभ्याए मनमनै । आफुले आफैलाई सेँठकी छोरीको तुलामा जोखे । र, आफ्नो पूर्व संगठन र आन्दोलनको नेतृत्वलाई चलाख लाहुरेको उपमा दिए । आफैसित बोले– “हाम्रा लाहुरेले हामीलाई माडी एक्सप्रेस र लुङ्री एक्सप्रेसमा बिना पैसा, बिना टिकटै चढ्न पाइन्छ भन्दै भन्दै चुत्रा बजार पो ल्याइपु¥याए त गाँठे हो !”
उनको ओँठमा ब्यङ्ग्यमिश्रित हाँसो कोरियो– सम्झेर, सोँचेर ।
करिब पन्ध्र मिनेट जति जलसमीप्यताभित्र कतै अल्झिरहे ।
को जानी ? उनका ब्यथित मनले के के सोँच्यो । कल कल बग्ने पानीमा पिच्च थुक फाल्यो । बिशाल पानीमा थुकको एक पिच्का कता हरायो हरायो । यो देखेर अनायास उनी जुरुक्क उठेर पिठ्युँमा झोला बोके । सोँचे– ‘नदीको छालमा थुकको छिटा हराए जसरी यो समसामयिक उतारचढावमा म हराउनु भएन । आदिम मगराँती कालाशेष राज्यको केन्द्र ‘जङ्कोइ’को सभ्यता बोकेको मेरो ‘शेषखाल’ गाउँको मुहार फेर्नु छ ।’
सुवास बगरको बाटो हुँदै शेषखालका गाउँ पुग्न हतारिए । जहाँ उनका जीर्ण जन्मघरले उनैलाई कुरेर बसेको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।