घोराही । गुरुकुल एकेडेमी घोराहीको १०औं वार्षिकोत्सव इञ्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख नारायण पौडेलले गुरुकुल एकेडेमीको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षालाई आत्मनिर्भर र गुणस्तरीय बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं विशेष अतिथि सविन प्रियासनले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई प्रेरित गर्दै विद्यालयले समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको सराहना गर्नुभयो। उहाँले विद्यालय सुधारका लागि शिक्षकहरूलाई समयानुकूल सक्षम बनाउनु आवश्यक रहेको औंल्याउँदै शिक्षालाई सामाजिक रूपले स्थायी बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय, घोराहीका प्रधानाध्यापक लोकबहादुर बस्नेतले निजी विद्यालयहरू पनि सरकारको अनुमति प्राप्त संस्थाहरू भएकाले सरकारी विद्यालयको स्तर उच्च भए मात्र निजी विद्यालयहरू अझ गुणस्तरीय बन्न सक्ने बताउनुभयो। विद्यालयभित्र प्रवेश गर्दा नै विद्यार्थीहरूले सिक्ने वातावरणबारे अनुमान गर्न सकिने भन्दै गुरुकुल एकेडेमीको शिक्षण प्रणालीको प्रशंसा गर्नुभयो। साथै, उहाँले उच्च शिक्षा हासिल गरेर विदेश गएका विद्यार्थीहरू स्वदेश फर्कने वातावरण बनाउन सरकारलाई अनुरोध गर्नुभयो।
गुरुकुल एकेडेमीका अध्यक्ष इञ्जिनियर अनन्तराज घिमिरेले विद्यालयको भावी योजनाहरू प्रस्तुत गर्दै शैक्षिक क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सबैलाई समर्पित भएर लाग्न आग्रह गर्नुभयो।
वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए, जसमा कला तथा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिहरू, नाटक, परम्परागत पोशाक प्रदर्शन, बाँसुरी वादन, विज्ञान प्रदर्शनी, र कार्टून चित्रकला (क्यारिकेचर) समावेश थिए। विद्यार्थीहरूले आफ्नो मन्तव्य राख्दै विद्यालयमा सिकेका कुराहरूको अनुभव बाँडेका थिए।
कार्यक्रमका क्रममा विद्यालयमा १० वर्ष सेवा गरेका आठ जना शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा गुरुकुल एकेडेमी तुल्सीपुरका प्रधानाध्यापक मुकुन्द गिरी, गुरुकुल एकेडेमी घोराहीका मोंटेसरी संयोजक लोचना पौडेल, प्रशासन प्रमुख गोमा गौतम, ईसीए संयोजक विशालमान श्रेष्ठ, शिक्षिका आशा कुमारी चौधरी, सवारी चालक शंकर चौधरी, भान्सा कर्मचारी चन्द्रकला गिरी, तथा हेमराज चौधरी रहनुभएको थियो। साथै, गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनाल पनि सम्मानित हुनुभएको थियो।
यसैगरी, कक्षा ५, ८, १०, र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरू श्रृज्वल पौडेल, प्रशंसा शर्मा, र सुविना विष्टले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
