तुलसीपुर । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको बताउनुभयो ।
अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उहाँले जानकारी दिनुभयो । हाल दाङबाट काठमाडौँ जाँदा सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उहाँले बताउनुभयो । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने उहाँको भनाइ छ ।
यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।
उक्त विमानस्थलाई नियमित बनाउन पटक(पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् ।
यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
