• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडाध्यक्ष नै वैदेशिक रोजगारीमा




दशरथ घिमिरे

देउखुरी । स्थानीय तह गठन भएपछि वडा कार्यालयहरु विस्तार भए । कर्मचारीहरु भर्ना गरेर काम थालनी गरियो । राप्ती गाउँपालिका–८ मा रहेको वडा कार्यालयमा स्थानीय चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगीमा भर्ना हुनुभयो । काम गर्दै जानु भयो । जनताको कामको लागि शनिबार, विदाको दिन पनि भन्नुभएन । जनप्रतिनिधि जस्तै काममा खटिनुभयो । २०७९ सालको निर्वाचनको मिति घोषणा भयो । निर्वाचनमा होमिने व्यक्तिहरुको चर्चा हुन थाल्यो । उनै कार्यालय सहयोगी चन्द्रबहादुरले वडाध्यक्षमा इच्छा व्यक्त गर्नुभयो । नेकपा एमालेले गुरुङलाई वडाध्यक्षको उम्मेदवार पनि बनायो । गुरुङले एक सय ३४ मतान्तरले कांग्रेसका प्रभाकरदेव चौधरीलाई हराउनु भयो ।

गुरुङले नौ सय ५० मत प्राप्त गर्नुभएको थियो । कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित भएकोमा गुरुङको खुबै चर्चा भयो । अहिले पनि गुरुङको काम गराइप्रति नागरिकको विश्वास कायमै छ । तर गुरुङले एकाएक वैदेशिक रोजगारीको यात्रा थालेपछि वडाबासीहरु आश्चर्यमा परेका छन् भने वडा सदस्यहरु अलमलिएका छन् । ‘वडाको टिममा पनि खासै कुरा भएन । एक्कासी विदेश जानुभयो रे भन्ने सुनियो’– वडा सदस्य दयाराम चौधरीले भन्नुभयो– ‘उहाँको काम गराई एकदमै राम्रो थियो । वडा सचिवले गर्ने कामदेखि सेवाग्राहीको निवेदन लेखिदिनेसम्मको काम आफै गर्नुहुन्थ्यो । एकदिन नराम्रो भन्ने सुनिएन ।’ स्थानीय नागरिकको मन जितेर निर्वाचित भएका राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेश हिडेपछि उहाँको पुनः चर्चा भएको छ ।

वडाध्यक्ष गुरुङ रोजगारीको लागि बेलायत पुग्नु भएको छ । आर्थिक संकटले घेरेपछि गुरुङले वैदेशिक रोजगारीलाई रोज्न बाध्यता आएको उहाँ निकट व्यक्तिहरुको भनाइ छ । रहरले नभएर बाध्यताले विदेश जानुपरेको वडाध्यक्ष गुरुङको भनाइ छ । पारिवारिक खर्च चलाउन मुस्किल भएपछि विदेश यात्रा रोज्नुपर्ने अवस्था आएको हो । आमा लामो समयदेखि बिरामी परेर थलिनुभयो । उहाँको उपचारमा धेरै रकम खर्च भयो । ऋण पनि लाग्यो । त्यो ऋण तिर्नकै लागि गुरुङले विदेश यात्रा रोज्नुपर्ने बाध्यता आइलागेको जनाइएको छ । वडाध्यक्ष गुरुङका बुवा नीमबहादुर गुरुङ बेलायतको निवृत्त सेना हुनुहुन्थ्यो । बुवाको मृत्युपछि बेलायत सरकारले निवृत्त भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेको र सोही अनुसार प्रक्रिया अघि बढेर पूरा भएपछि उहाँ विदेश जानुभएको छ ।

गुरुङ बेलायत पुगिसक्नु भएको छ । वडाध्यक्ष गुरुङले विदेश उड्नुअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिनु भएको छ । गुरुङले कार्यवाहक वडाध्यक्षका रूपमा वडा सदस्य पुनलाई जिम्मेवारी दिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो । ‘विदेश जाने बारेमा पनि खासै जानकारी थिएन । एकाएक गएको खबर आयो’– अध्यक्ष बिष्टले भन्नुभयो– ‘एउटा बैठकमा यस्तो सुन्दैछु भनेको थिएँ । उहाँले जानुपर्ने बाध्यता आयो । अर्काे सभासम्म फर्किन्छु भन्नु भएको थियो ।’ संविधानमा वडाध्यक्षले राजीनामा दिएमा वा मृत्यु भएमा मात्रै निर्वाचनको परिकल्पना गरेको छ । तर विदेश गएको खण्डमा कुनै विषय उल्लेख छैन । अघिल्लो कार्यकालमा पनि नेकपा एमालेबाट वडा नं. ८ को वडाध्यक्षमा गोकर्णबहादुर राना निर्वाचित हुनुभएको थियो । रानाको कार्यकालमा गुरुङ कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

Facebook Comments