• २१ कार्तिक २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरको सार्वजनिक सुनुवाइ, बजेट निर्माणदेखि असारमा गरिने विकासप्रति चासो




तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनवाईमा सेवा प्रवाह, भइरहेका विकास निर्माणका बारेमा नागरिकले सुझाव तथा गुनासो राखेका छन् ।

कार्यक्रममा सहभागीहरुले युवामैत्री बजेट निर्माण गर्नुपर्ने, पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्ने, न्यायिक समितिले न्याय निरुपनमा प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले असारे विकासको अन्त्य गर्नुपर्ने, वडामा पनि सार्वजनिक सुनुवाई गर्नुपर्नेमा जोड दिएका छन् । तुलसीपुर–८ का इन्द्रजित चौधरीले असारमा निर्माण गरिने सडक गुणस्तरिय नहुने बताउनुभयो । उहाँले वर्षायाममा पनि सडक कालोपत्रे भइरहेको भन्दै वर्षातका कारण सडक गुणस्तरिय नहुने बताउनुभयो ।

तुलसीपुर–७ का मोहन थापाले सबै वडालाई समानरुपले बजेट बिनियोजन गरिनु ठिक नभएको बताउनुभयो । उहाँले भौगोलिकताको आधारमा बजेट बिनियोजन गर्दा ग्रामिण क्षेत्रका नागरिकले पनि स्थानीय सरकारको अनुभूति गर्न पाउने बताउनुभयो ।

तुलसीपुर– १९ बल बहादुर वलीले उपमहानगरपालिका हुँदा पनि कतिपय वस्ती अझै पनि उज्यालोका लागि टुकी र सोलारको भर पनुपर्ने बाध्यतामा रहेको बताउनुभयो । उपमहानगरपालिकाले बिजुली नपुगेका वस्तीमा विद्युतिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले उपमहानगरपालिकाले जेष्ठ नागरिकका सवाललाई प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकका लागि दिवासेवा केन्द्र स्थापना गर्न नगरले चासो दिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख टिकाराम खड्काले सहभागीले राखेका प्रश्न तथा गुनासाको जवाफ दिनुहुँदै नगरको गेटसंगै सटेका व्यवसायीक भवन हटाएर पार्किङ स्थल बनाउन लागेको बताउनुभयो । नगरले जग्गा खालि गर्नका लागि सार्वजनिक सुचना नै जारी गरिसकेको र साउन १ गतेदेखि काम अघि बढ्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले उपमहानगरपालिकाले आवश्यकताको आधारमा बजेट बिनियोजन गरिरहेको बताउनुभयो । उहाँले नगरले संचालन गरिरहेको मेट्रो कलेजमा ३ सय छोरीहरुले निशुल्क पढिरहेको बताउनुभयो ।

नगरका सुशासन समितिका संयोजक धर्म वलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले शिक्षाको गुणस्तर सुधारका लागि नगर निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले तुलसीपुर मेट्रो कलेज तुलसीपुरकै गौरब भएको बताउनुभयो । कलेजमा करिब ९ सय विद्यार्थीले अध्ययन गरिरहेको बताउँदै तुलसीपुरलाई शिक्षाको हब बनाउन मेट्रो कलेजले प्रमुख भूमिका खेलेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरले सेवाप्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन निरन्तर लागिरहेको बताउनुभयो । उहाँले सकेसम्म गुनासो नआउने गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सुचना अधिकृत बाबुराम न्यौपानेले नगरले चालु वर्षमा गरेका कामको सार्वजनिक गर्नुभयो । उहाँले चालु वर्षको वर्षको राजश्व संकलनको अवस्था, बिनियोजित बजेटको खर्च अवस्था, भौतिक विकासको प्रगति लगायतका विवरण सार्वजनिक गर्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गर्नुभएको हो ।

Facebook Comments