दाङ ।नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम बाह्रकुने दहमा गरेको छ । इकाइ सभापति समिर केसीको अध्यक्षता एवम् नेविसंघका केन्द्रीय सदस्य निरज गिरीको प्रमुख आतिथ्यता तथा नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै क्याम्पसमा अध्ययनका लागि आएका नवागन्तुक विद्यार्थीलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेविसंघ केन्द्रीय सदस्य गिरीले लोकतन्त्रलाई बचाइराख्न युवा तरुण विद्यार्थीको भूमिका महत्वपूर्ण रहने भएकाले नेविसंघमा आबद्ध विद्यार्थी लोकतन्त्रको बचाउका निम्ति सच्चा सिपाही बनेर उभिनु पर्ने बताएका थिए । नेपाली कांग्रेसको मेरुदण्डको रूपमा रहेको नेविसंघ पार्टीलाई सशक्त बनाउने बलियो अस्त्र भएको भन्दै गिरीले पार्टीले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि नेविसंघ गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए । यसैगरी विशिष्ट अतिथि नेविसंघका जिल्ला अध्यक्ष पोख्रेलले नेविसंघलाई चुस्त बनाउन नेविसंघमा आबद्ध सबै विद्यार्थी सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
लोकतन्त्रको सच्चा पहरेदार माउ पार्टी नेपाली कांग्रेसको संगठनलाई चुस्त बनाउन नेविसंघको भूमिका महत्वपूर्ण रहने भन्दै पोख्रेलले कांग्रेसको मजबुतीमा मात्रै लोकतन्त्रको संरक्षण हुने बताए । कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनोज डिसीले क्याम्पसको शैक्षिक सुधारसँगै विद्यार्थीको हकहितका लागि आफूहरू सक्रिय रूपमा लागिरहेको बताए ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष एवम् प्रजातान्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष एवम् प्रजातान्त्रवादी प्राध्यापक संघका महेन्द्र बहुमुखी क्याम्पस कार्यवाहक अध्यक्ष बालकृष्ण डाँगी, प्राध्यापक संघका अध्यक्ष दिनेश भट्टराई, नेविसंघ इकाइ सल्लाहकार ओमप्रकाश शर्मा, इकाइ कोषाध्यक्ष रमिला शर्मालगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण इकाइ सचिव एकराज डिसीले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
