तेजवीर बिसी
दाङ । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
यस विषयप्रति संवेदनशीलता देखाउँदै मन्त्रालयले स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ताश्रेस्ता कायम भई दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समितिबीचको समस्या समाधानको लागि ठोस पहल थालिसकेको छ।
यसको लागि मन्त्रालयले आजै मन्त्रालयका सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय, दाङ्गका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही, दाङ्गका प्रमुख मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका १/१ जना प्रतिनिधि सदस्य रहेका छन्। समितिले समस्याको वस्तुस्थिति, यस विषयसंग सम्बन्धित सम्मानित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानको लागि मन्त्रालयलाई कानूनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गर्नेछ ।
यस परिप्रेक्ष्यमा आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरी संघर्षरत पक्षका आधिकारिक प्रतिनिधिहरू मन्त्रालयबाट गठित समितिसँग वार्तामा बसी छलफल एवम् सम्वादबाटै वर्तमान समस्याको समाधानको लागि अग्रसर हुन संघर्षरत पक्षलाई मन्त्रालय हार्दिक आव्हान गर्दै प्रेस विज्ञप्ति जारी गरेकाे हाे ।
गुठीपीडित निरन्तर आन्दोलनमा थिए । आन्दोलनकाे अवस्था बुझेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहल र प्रधानमन्त्री प्रचण्डको विशेष निर्देशनमा दाङमा आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई वार्तामा आउन सरकारले , वार्ता गर्न समिति गठन गरेकाे हाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
