काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको हो ।
यसअघि विभागले नै उनीहरूलाई निलम्बन गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निलम्बन गर्ने विभागको निर्णय खारेज गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सोही आधारमा विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा कुनै त्रुटि फेला नपरेपछि उनीहरूलाई सफाइ दिइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक मदन दाहालले गत असोज १५ मा १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेका थिए । त्यसका विरुद्धमा ती मेनपावर कम्पनीले मन्त्रालयमा पुनरावेदन गरेका थिए ।
विभागले गरेको निर्णयका विरूद्धमा श्रम मन्त्रालयमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । पुनरावेदनका लागि परेका उजुरीमाथि श्रम मन्त्रीले निर्णय गर्छन् ।
अनुसन्धान प्रक्रिया जारी राख्दै मन्त्री भण्डारीले जापान जाने श्रमिकहरूलाई समस्या पर्न सक्ने कारण देखाउँदै निलम्बन फुकुवाको निर्णय गरेका थिए ।
किन गरिएको थियो निलम्बन ?
तत्कालीन महानिर्देशक दाहाल समक्ष जापानमा कामदार पठाउने २१ वटा कम्पनीले नक्कली सर्टिफिकेट पेस गरेर कामदार पठाएको भन्दै उजुरी परेको थियो । त्यसपछि दाहालले निर्देशक उप्रेतीलाई उनीहरूमाथि छानबिन गर्न निर्देशन दिएका थिए । छानबिनको क्रममा १४ वटा मेनपावर कम्पनीले नक्कली प्रमाणपत्र पेस गरेर कामदार पठाएको पाइएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
जाइकामार्फत पाएको भाषा परीक्षा पासको प्रमाणपत्रको आधारमा विभागबाट श्रम स्वीकृति लिने र जापानमा काम गर्न जाने गरेका थिए । तर, भाषा परीक्षा पास नगरेकाहरूले समेत जाइकाको प्रमाणपत्र बनाएको पाइएको थियो ।
समितिले गरेको सिफारिसको आधारमा महानिर्देशक दाहालले अर्को निर्णय नहुँदासम्मका लागि भन्दै निलम्बन गरेका थिए । त्यसरी निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी थिए ।
विभागका महानिर्देशक घिमिरेले मन्त्रालयबाट निलम्बन फुकुवाको निर्णय भएपछि विभागले पनि सफाइ दिएको बताए । ‘मन्त्रालयबाटै निलम्बन फुकुवाको निर्णय गरिसकेपछि विभागले त्यसैलाई सदर गरेको हो,’ उनले भने ।
जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिम लिन जापान पठाउन जाईकामार्फत भाषा परीक्षा दिनुपर्ने व्यवस्था थियो । सोही आधारमा जापानीज भाषा पढेको प्रमाणपत्र जाइकाले दिने गरेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
