घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन गरेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका महासचिव विप्लवको बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्ति विरुद्ध संगठनले संगठनको केन्द्रीय कार्यक्रम अनुसार सोमबार साँझ घोराहीको तुलसीपुर चोकमा शाहीको पुत्ला दहन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सीले राप्रपाका प्रवक्ता तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले नेकपाका महासचिव विप्लव सीका बारेमा दिएको गैरजिम्मेवारी अभिव्यक्तिको सांकेतिक पुत्ला दहन दाङसहित देशभर भएको बताए । उनले आफ्नो पार्टी र नेतृत्वको विरुद्ध दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई तत्काल नसच्याए त्यसबाट निस्कने परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाहीले लिनुपर्ने उद्घोष गरे ।
सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिलाई भङ्ग गर्ने, अराजकता मच्चाउने र देशलाई द्वन्द्वतिर धकेल्ने खोज्ने ज्ञानेन्द्र शाहीको आङ्गो अराजकता भएको संगठन अध्यक्ष पदम सीको भनाइ थियो ।
माघ १३ गते राप्रपा नेपालको आफ्नो कार्यालय चाबाहिल काठमाण्डौंमा आयोजित सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीका बारेमा दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्याउन र अभिव्यक्ति तुरुन्त फिर्ता लिएर जनतामाझ माफी माग्न नेकपाले चेतावनी दिएको छ ।
कोणसभाको सहजीकरण संगठनका उपाध्यक्ष शिशिर सीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
