घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले नेपालको संकटको निकास समाजवाद भएको बताएका छन् । संगठन बिस्तार र सुदृढ तथा राज्य षडयन्त्रको भन्डाफोर अभियान अन्तर्गत पार्टी पूर्वी दाङले शुक्रबार घोराही -१२ हापुर बिजौरीमा आयोजना गरेको वडास्तरीय आजको संकट र निकासको मार्ग विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख वक्ता समेत रहेका इञ्चार्ज सविन सीले नेपालको संकट आजको बहस भएको र संकटको निकासका लागि वडा तथा टोलस्तरमा सर्वपक्षीय व्यापक अन्तरक्रियाहरु हुनुपर्ने बताए । उनले देशमा राजनीतिक, आर्थिक, समाजिक लगायत यावत् प्रकारका संकटहरु भएको र यस्ता संकटलाई कसरी हल गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । दलाल पूँजीवादी राज्यव्यवस्थाले देशमा संकट र समस्यामात्र सिर्जना गरिरहने भएको हुँदा यो व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समजवाद ल्याउनु पर्ने नेता सविनको भनाइ छ ।
` अब समाजवादी सपनामा मानिसहरुलाई डोर्याउनुपर्छ´ उनले भने `समाजवादी सपनामा मानिसहरूलाई डोर्याउन सकियो भने नेपाललाई र नेपालका युवाहरूलाई उज्यालो यात्रामा हिडाउन सकिन्छ ।´
वुद्दिजीवी एवं क्रान्तिकारीका नेता माधव गौतमले नौलो जनवादी क्रान्ति अझै पूरा नभएको बताए । उनले घर परिवारबाटै आफ्नो आचारण परिवर्तन नगरेसम्म सच्चा कम्युनिस्ट बन्न नसक्ने भन्दै कम्युनिस्ट विचार र सिद्धान्तको धरातल स्वरुप बिर्सन नहुने कुरामा जोड दिए ।
नेकपा मोटो मसालका जिल्लाका प्रतिनिधि मेघराज भट्टराईले राजनीतिमा आमूल परिवर्तन नहुँदासम्म देश समस्याग्रस्तबाट मुक्त हुन नसक्ने बताए । उनले राष्ट्रिय स्वाधीनता खतरामा रहेको भन्दै यो व्यवस्था परिवर्तन गर्नुपर्ने र त्यसका लागि राजनीतिमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए।
नेकपा एमाले घोराही- १२ का अध्यक्ष जोगेन्द्र बिष्टले सबै राजनीति दलले स्थानीयस्तरका जनतासामु विश्वास दिलाउन नसक्दा जनताहरुले पुराना पार्टीलाई विश्वास गर्न नसक्ने अवस्थामा पुगिसकेको बताए । उनले पार्टीका नेतृत्वहरुले जनतासामु विश्वासको वातावरण बनाउन नसक्दा जनताहरु पुराना पार्टी भन्दापनि नयाँ पार्टीमा आकर्षण हुन थालेको कुरामा जोड दिए ।
स्किम नम्बर २ खानेपानीका अध्यक्ष जयबहादुर बुढाथोकीले नेकपा लिएको कार्यक्रम राम्रो भएको भन्दै यो व्यवस्थाले समिति व्यक्तिको अवस्था बदलिएको तर स्थानीयस्तरमा अवस्था नबदलिएको बताए ।
माओवादी केन्द्रका प्रतिनिधि राजु कान्छाले नेकपाले तयार पारेको अवधारणा पत्रमा वर्तमान अवस्थाको चित्रण गरिएको भन्दै हिजो ठूलो त्याग र तपस्या गरेर ल्याएको यो ब्यबस्थाले अझै पनि आम जनताको अवस्था बदल्न गर्न नसकेको बताए । उनले यो व्यवस्था र अवस्था बदल्नका लागि सम्पूर्ण शक्तिहरु एक ठाउँमा हुनुपर्ने कुरामा जोड दिए ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले आजको संकट र निकासको मार्ग विषयक अन्तरक्रिया कार्यक्रमको अवधारणा पत्र प्रस्तुत गरेपछि उपस्थिति आमन्त्रित अतिथिहरुले अवधारणा पत्रमाथि टिकाटिपणी, सल्लाह र सुझाव व्यक्त गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झना सी, राजनीति दलका प्रमुख/ प्रतिनिधि, वुद्दिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/ प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
एरिया इञ्चार्ज महान सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका पूर्वी दाङका अध्यक्ष पदम सीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

