• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षा विधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछ : प्रधानमन्त्री




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूर्ण माग पूरा गर्ने बताएका छन् । उनले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्ने समेत बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएण्टो) को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत आफ्ना माग पूरा गराउन शिक्षकहरूको लागि अनुकूल अवसर प्राप्त भएको दाबी गरे । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल शुरु हुन गइरहेको भन्दै उनले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताए । शिक्षकका समस्या समाधानमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकमा समस्या रहेसम्म शिक्षा सुधार नहुने भन्दै शिक्षकका समस्या समाधान गरी उनीहरूलाई पेसाप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उत्पीडित शिक्षकका मागहरू पूरा गर्दै राज्यले शिक्षण पेसाप्रति आकर्षण र आत्मविश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शिक्षकका माग पुरा गर्दै राज्यले उनीहरूलाई शिक्षणसँगै खोज, अनुसन्धान र आविष्कारमा लगाउनुपर्ने बताए । अध्ययन, खोज र सिकाइ जीवन पर्यन्त चलिरहने भन्दै सापकोटाले शिक्षकहरूलाई पनि शिक्षणसँगै अध्ययन र अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे ।

सङ्गठनको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रममा काठमाडौं सिता पाइलामा निर्माण हुन लागेको सङ्गठनको बहुउद्देश्यीय भवनको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गरेका थिए ।

सङ्गठनमा आबद्ध शिक्षकहरूबाट सहयोग  सङ्कलन गरी केही समय अघि सङ्गठनले साढे दुई करोड रुपैयाँमा सिता पाइलामा ५ आना जग्गा खरिद गरेको थियो । सोही जग्गामा अहिले बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो ।

 

 

 

Facebook Comments