रुकुम(पूर्व), १ पुस : रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
पाँच÷छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौँ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा÷खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताउनुभयो । मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ पहिले सबैले बारीमा जौँखेती हुने गर्दथ्यो । पछि विस्तारै मानिसले जौँखेती गर्न छाड्दै गए ।” मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन् ।
जौँखेती गर्दै आउनुभएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौँखेती नगरेको जानकारी दिनुभयो । “पहिले जौँ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “जौँबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।” वस्तुभाउलाई दानाका रूपमा पनि जौँ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन हुन छाडेको उहाँको भनाइ छ ।
मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौँखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताउनुभयो । यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौँखेती गरिँदै आइएको छ । सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौँखेती हुने गरेको छ ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौँबाट बनेका परिकार मन नपराउने हुँदा जौँखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो“विगतका तुलनामा जौँखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन् । ”
–––
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।