घोराही । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ ।
गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसिपुर र लमहिका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्त राज घिमिरेले जानकारी दिनुभयो ।
गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करीव रु २५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति ,बुद्धिजीवी , शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ ।
गुरुकुल एकेडमीको ५१ प्रतिशत शेयरमध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो । शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक , कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि संचालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।
गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्युनतम रु १० लाखदेखि अधिकतम रु ५० लाखसम्म लिन पाउने छन् । सोही अनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पौष १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फाल्गुण २५ गतेभित्र जम्मा गर्नुपर्ने छ ।
प्रति कित्ता १०० रुपैयाको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डी.सी. , विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ । र , तोकिएका व्यक्तिहरुसंग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानी दिन समेत विद्यालयले अनुरोध गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
