सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
विश्वकप छनोट : अमेरिकासँग खेल्दै नेपाल
४ असार २०८०, मंगलवार
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२स् ४५ मा सुरुहुनेछ । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् । नेपालले आज टोलीमा एक परिवर्तन गर्ने पक्का छ । घाइते तीव्र गतिका बलर सोमपाल कामी आजको खेलमा उपलब्ध हुनेछैनन् ।
त्यसैले उनको स्थानमा स्पिनर ललितनारायण राजवंशी वा एक तीव्र गतिका बलर खेलाउनेछ । यदि ललितलाई नखेलाएको अवस्थामा प्रतिश जि।सी र किशोर महतो मध्य एकलाई खेलाउनेछ । किशोर महतो भने अन्तिम १५ मा थिएनन् । यदि २४ घण्टा अघि आइसिसीलाई जानकारी दिएको खण्डमा मात्रै खेल्नेछन् ।
जिम्बावेविरुद्ध ३४ औं ओभरमा बलिङ गर्नेक्रममा उनको बुढी औंलामा चोट लाग्न पुगेको थियो । त्यसैको कारण उनी फिट नभएको हाम्रो खेलकुदलाई स्रोतले जानकारी दिएको छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने छैन । नेपालले बलिङ भने उत्कृष्ट गर्नुपर्ने हुन्छ । प्रमुख बलर सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेका थिए । सन्दीप लगातार ३३ इनिङपछि विकेट विहीन बन्न पुगेका थिए । युएईविरुद्ध टियुमा १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएपछिको खराब प्रदर्शन थियो । २०२० मा अमेरिकालाई ओडिआई इतिहासकै सबैभन्दा कम ३५ रनमा अल आउट गर्न सन्दीपले ६ विकेट लिएका थिए । त्यसैले पनि सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
सोमपाल नहुँदा करणमाथि जिम्मेवारी बढ्नेछ । करण र गुलशन पहिलो रोजाईको तीव्र गतिको बलर हुनेछन् । नेपालको ब्याटिङक्रम भने उत्कृष्ट छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले जिम्बावेविरुद्ध १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । ९९ रनमा आउट हुनु परेको पिडा कुशल अमेरिकाविरुद्ध पोख्न चाहन्छन् । आसिफले ६६ रन बनाउँदै कुशललाई राम्रो साथ दिएका थिए । नेपाल कुशलबाट आक्रामक र आसिफबाट अर्को एन्डबाट साथ चाहन्छ ।
नेपालले अन्तिम पाँच ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यो हारको एक कारण थियो । फिनिसरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । फिनिसरमा करण र दीपेन्द्र हुनेछन् । नेपालले खराब सुरुवात गर्दा पनि विशाल योगफल बनाउन सक्छ । तेस्रो नम्बरका भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरका कुशल मल्लको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
उच्च लयमा रहेका कुशल मल्लले २०२० मा अमेरिकाविरुद्ध डेब्यू गर्दै ५० रन बनाएका थिए । नेपाल कुशलबाट विष्फोटक ब्याटिङ चाहन्छ । आरिफ शेखले तल्लोक्रम सम्हाल्नेछन् । अमेरिकामा बायाँ हाते तीव्र गतिका बलर सौरभ नेत्रवालकर छन् । भारतीय यू१९ र रणजी अनुभवी सौरभबाट नेपाल सचेत हुनुपर्छ ।
बायाँ हाते बलर नेपाली ब्याटरको कमजोरी बन्दै आएको छ । उता अमेरिका ओपनर स्टिभ टेलर नेपालविरुद्ध सधैं हाबी हुँदै आएका छन् । २०१३ को डिभिजन थ्रीमा उनले १ सय २ बलमा १२ चौका र १२ छक्कासहित १ सय ६० रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । त्यस्तै गतवर्ष अमेरिकामै उनले नेपालविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । ओमानमा उनले नेपालविरुद्ध ६३ बलमा ९२ रनको इनिङ खेलेका थिए ।
बायाँ हाते ओपनर टेलर विष्फोटक ब्याटिङका लागि बढी रुचाउँछन् । उनी धेरै समय क्रिजमा टिकेको खण्डमा नेपालको जित कठिन बन्नेछ । त्यसैले उनको विकेट निकै महत्वपूर्ण हुने देखिन्छ । कप्तान मोनांक पटेल राम्रो लयमा छन् । उनले पनि नेपालविरुद्ध लगातार राम्रो खेल्दै आएका छन् । लिग २ मा २ शतक र ८ अर्धशतकसहित १२ सय १९ रन बनाएका पटेलको विकेट चाँडै लिनुपर्छे हुन्छ ।
वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द सिंहको मनोबल पनि उच्च छ । नेपाललाई १९ वर्षीय ब्याटर साइतेजा मुकामल्लाले सरप्राइज दिनसक्छन् । युवा खेलाडी उनले अमेरिकाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । अमेरिकालाई विश्वकप छनोटमा पुर्याउन उनले प्लेअफ क्वालिफायरमा युएईविरुद्ध १ सय २० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
आरोन जोन्स, जेसी सिंह, सुशान्त मोदानी र शयान जहाजिंगरबाट पनि अमेरिका राम्रो प्रदर्शन चाहन्छ । उता अमेरिकाका प्रमुख तीव्र गतिका बलर अली खान आजको खेल पनि खेल्न पाउने छैनन् । चार डेमीरेट प्वाइन्टका कारण अली खानलाई दुई खेल प्रतिबन्ध लागेको थियो । आजको खेलपछि उनको प्रतिबन्ध फुकुवा हुनेछ ।
तर युवा बलर कायल फिलिपले वेस्टइन्डिजविरुद्ध तीन विकेट लिँदै अली खानको अभाव महसुस हुन नदिने संकेत दिएका छन् । २६ वर्षीय फिलिपको बलमा स्वींग र गती छ । सौभर र फिलिपको बलिङ पावर प्लेमा महत्वपूर्ण हुनेछ । स्पिन आक्रामण र मध्यक्रम ब्याटिङ अमेरिकाको कमजोरीको रुपमा छ । शीर्षक्रम ब्याटिङ र तीव्र गतिको बलिङ अमेरिकाको हतियार हो ।
यदि नेपाल यस खेलमा पराजित भएको खण्डमा सुपर सिक्समा पुग्न वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराउनु पर्छ । आज अर्को खेलमा नेदरल्यान्ड्सले घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
जिम्बावे लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेदरल्यान्ड्स जिम्बावेलाई स्तब्ध पार्न सक्छ । काउन्टीका कारण नेदरल्यान्ड्सको टोलीमा पहिलो रोजाईका तीव्र गतिका बलर छैनन् । अलराउन्डर बास डि लिडेको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालविरुद्ध शतक हानेका दुई अनुभवी ब्याटर सन विलियम्स र क्रेग इर्विन प्रमुख हतियार हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।