• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छः मन्त्री शर्मा




काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सँधै स्वागत गर्ने बताउनुभयो ।

नेपाल र चीनबिच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताउनुभयो ।

आफूहरुले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशब्यापीरुपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताउनुभयो । नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवपर्वर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उहाँले स्मरण गराउनुभयो ।

विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ विश्वास बृद्धि हुँदै गएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरुसँग ज्ञान र सिपको आदानप्रदान गर्न चाहेको बताउनुभयो । सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको उल्लेख गर्दै उहाँले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘पत्रकारिताको अध्ययन, ज्ञान र सिपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै बृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।’ नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त संभावना रहेको उल्लेख गर्दै उहाँले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविध र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । दुबै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उहाँले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताउनुभयो । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उहाँले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताउनुभयो ।
डेटा एप्लिेकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाई गरिरहेको उल्लेख गर्दै उहाँले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताउनुभयो ।

नेपालको नयाँ पुस्तामा डिजिटल वर्ल्ड तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने पनि राजदूत सोङको विश्वास थियो । उहाँले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । भेटमा दुबै देशका अधिकारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments