• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
के बच्चालाई गर्मी हुँदैन ?




कुलराज पोख्रेल

बाहिर चरक्क पोल्ने घाम । ३८ डिग्रीसेल्सियस भन्दामाथि तातेको वातावरणले उकुस मुकुस बनाईरहेको छ । घर भित्र बसौँ, रापको तापले निस्सासिनु पर्छ । पंखाको हावाले गर्मी छिचोल्नै सक्दैन । पंखाको मुनी पसिना पुछ्दै बस्नु पर्दाको असहजता मैले मात्रै हैन, सबैले महशुस गरेकै हुनुपर्छ ।

उखरमाउलो गर्मी छिचोल्न मैले अनेकन उपाय अपनाईरहनु पर्छ । बेस्सरी तातेको बाहिरी वातावरणबाट आफूलाई कसरी जोगाउने भनेर सोच्ने मैले मेरो ७ बर्षिय छोराले सहनु परेको गर्मीको पीडालाई भने टुलुटुलु हेरेर बसिरहनु परेको छ । ७÷८ किलो तौलको स्कुल ब्याग बोकेर उ बिहान स्कुल जान्छ । उसको अनुहार पसिनाले पुरै छोपिसकेको हुन्छ । रुमालले उसको अनुहार पुछ्दै स्कुल पठाउनु पर्छ , अनि उसलाई भन्नै पर्छ ‘राम्रो संग पढ्नु ।’
मैले उसको अनुहारबाटै बुझ्छु , मेरो फुच्चे छोरो गर्मिले कसरी जलिरहेको छ । उसको हाउभाउबाट बुझ्छु , उसलाई बाहिरी तातोको रापले कसरी सेकिरहेको छ भन्ने । उसको मनोभाव म बुझ्छु, स्कुल बिदा भैदिए हुन्थ्यो भन्ने उसको मनोभाव बोलिरहेको हुन्छ । बाहिरको तापको रापबाट सेकिँदै विद्यालयबाट घर फर्कने छोराका पसिनाले निथ्रुक्क भिजेका पोशाक देखेर टिठ लाग्छ । ओहो कति गर्मी सहेको छोरोले ?

गर्मीले आकुल ब्याकुल भएर विद्यालयबाट फर्किने छोरोले साँच्चै किन गर्मी खाईरहनु परेको होला ? ७÷८ किलो तौलका स्कुल ब्याग बोकेर पसिनासंग नुहाउने यी अबोध बालबालिकाहरुलाई यो उधुम गर्मीमा घरमै आराम गर्न दिन मिल्दैन होला र ? गर्मीले तातेको वातावरणमा कस्तो सिकाई सिक्न सक्छन् बोला साना बालबालिकाहरुले ?

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई गर्मी हुन्छ । उनीहरुले गर्मी बिदा माग्छन् । क्याम्पसले विदा नदिए क्याम्पसमा आन्दोलनै चल्न सक्छ । क्याम्पसमा अध्ययन गर्ने ठूला विद्यार्थीहरुले सहन नसक्ने गर्मी साना अबोध बालबालिकाहरुले कसरी सहि रहेका होलान् ? यसतर्फ ध्यान जानु पर्दैन ?
केही दिनका लागि विद्यालय बन्द गरेर स्कुले बालबालिकाहरुलाई गर्मीबाट जोगाउनका लागि प्रयत्न गर्नैपर्ने देखिन्छ । पसिनाले निथ्रुक्क भिजेर घर फर्कने स्कुले बालबालिकाहरुलाई पनि क्याम्पसका विद्यार्थीहरुलाई जस्तै बिदाको सुविधा दिउँन । अबोध बालबालिकाहरु गर्मिको मार सहिरहेका छन् । तर भन्न सक्दैनन् बिदा चाहियो भनेर । गर्मीले थलिएका कलिला शरिरलाई तापको रापबाट जोगाउने आयित्व हामी अभिभावकको हैन ? हो भने किन भन्न सकिरहेका छैनौ कि हाम्रा छोराछोरी गर्मीले सताईए गर्मि बिदा दिनु पर्यो भनेर ।

विद्यालयसंग सरोकार राख्ने विभिन्न निकायहरु पनि बालबालिकाहरुले खेपिरहनु परेको यो गर्मीको मारप्रति गम्भीर बन्नै पर्ने देखिन्छ । कम्तिमा पनि यो गर्मीबाट बचाउनका लागि एक हप्ता वा केहि दिन विद्याय बन्द गरिनु पर्ने आवश्यक्ता अहिले धेरै अभिभावकहरुले महशुस गरेको कुरा हो । साना बालबालिकाहरुलाई गर्मी नै हुँदैन जसरी विद्यालयको कक्षा कोठामा कोच्नै पर्ने मानसिकताबाट टाढा रहनु पर्ने अहिलेको आवश्यक्ता हो ।

अतः विभिन्न स्थानीय तहमा रहेका शिक्षा शाखाहरुले पनि आफ्नो क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत साना बालबालिकाहरुले खेप्नु परेको सास्तीप्रति सदासयता देखाउनै पर्नेछ । अबोधहरुलाई गर्मीको रापमा तताएर शिक्षा दिनु भन्दा उनिहरुलाई अहिले सितलताको खाँचो छ । हैन भने अन्त्यमा मेरो उहि प्रश्न ‘के बच्चालाई गर्मी हुँदैन ?’

लेखक कुलराज पोख्रेल नेपाल विद्यार्थी संघ दाङ जिल्लाका अध्यक्ष हुन् ।

Facebook Comments