• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर नेपालद्वारा १९ बुँदे शंखरापुर घोषणापत्र जारी (पूर्ण पाठसहित) 




दाङ । प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । संगठनको आयोजनामा  जेठ १३–१४ गते दुई दिनसम्म काठमाडाँै जिल्लाको शङ्खरापुर नगरपालिका साँखुमा सो साधारणसभा भएको थियो ।
उक्त साधारणसभाले १९ बुँदे  शंखरापुरा घोषणापत्र जारी गरेको छ । दुई दिनसम्म चलेको सभाले हाल नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेकोमा धन्यवाद दिँदै यस सदस्यता शुद्धीकरण अभियानको सफल कार्यान्वयनका लागि प्रेस सेन्टर नेपालले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने भनी बाध्यकारी बनाइएका सूचना तथा विज्ञापनहरू दर्ता÷सञ्चालन रहेका जुनसुकै सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गर्न पाइने नीतिगत तथा कानुनी व्यवस्था गर्न जोडदार माग लगायतका महत्वपूर्ण लामो १९ बुँदे शंखरापुर घोषणापत्र जारी गरेको घोषणापत्र मस्यौदा समितिका संयोजक उदय जीएमले जानकारी दिए  ।
यस्तो, १९ औँ साधारणसभाद्वारा जारी १९ बुँदे घोषणापत्रको पूर्णपाठ ः 
प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा तथा २१ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मिति २०८० जेठ १३–१४ गते काठमाडाँै जिल्लाको शङ्खरापुर नगरपालिका साँखुमा भव्यताका साथ सम्पन्न भयो । साधारणसभाले जारी गरेको १९ बुँदे घोषणापत्र;
१) यो साधारणसभा परिवर्तनका लागि कलम चलाएकै भरमा पक्राउ परी हिरासतभित्र विभत्स हत्या गरिनुभएका महान् सहिद कृष्णसेन ‘इच्छुक’प्रति श्रद्धापूर्वक स्मरण गर्दै उहाँले चलाउनुभएको परिवर्तनको अभियानलाई निरन्तरता दिने दृढ सङ्कल्प व्यक्त गर्दछ ।
२) यो साधारणसभा सम्पूर्ण सहिद पत्रकार एवं जनमुखी आन्दोलनका योद्धाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, बेपत्ता पारिएका दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाललगायत सम्पूर्ण सञ्चारकर्मीमा उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको यथार्थ अवस्था सार्वजनिक गर्न माग गर्दछ ।
३) यो साधारणसभा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाका निम्ति प्रतिगामी तत्वहरूविरुद्ध एकताबद्ध भएर सञ्चार क्षेत्रबाट सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने दृढ संकल्प गर्दछ ।
४) यो साधारणसभा नेपाल सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनबापतको भुक्तानीका सम्बन्धमा विज्ञापन बोर्डले समयमै भुक्तानी नदिने, आफैले पेज तोक्ने, अनावश्यक झन्झट दिने, बजेटसमेत कटौती र रोक्का गर्ने बद्नियतपूर्ण कार्य गरेकाले सो कार्यको घोर भत्र्सना गर्दछ । साथै सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको समानुपातिक विज्ञापन प्रणालीलाई पूर्णरूपमा कार्यान्वयन गर्न विज्ञापन बोर्डसँग जोडदार माग गर्दछ ।
५) लामो समयदेखि प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको साझा संस्था बनाउनुपर्छ भन्ने मान्यता राख्दै र त्यसका लागि लविङ गर्दै आएको सर्वविदितै छ । सोही विषयमा हाल नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेकोमा धन्यवाद दिँदै यस सदस्यता शुद्धीकरण अभियानको सफल कार्यान्वयनका लागि प्रेस सेन्टर नेपालले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
६) छापा, टेलिभिजन, रेडियोसँगै अनलाइन सञ्चारमाध्यमसमेत लोककल्याणकारी विज्ञापन प्रणालीमा समावेश गर्न नेपाल सरकारले पटकपटक बजेटमा सम्बोधन गरेपनि कार्यान्वयन नभएकोप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बजेटमा सम्बोधन गरेको कुरा तत्काल कार्यान्वयनमा लैजान यो साधारणसभा माग गर्दछ ।
७) यो साधारणसभा सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको स्वरोजगारमूलक मिडिया प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरण प्रणाली प्रदेश र स्थानीय तहसमेतले लागु गर्न माग गर्दछ ।
८) यो साधारणसभा राष्ट्रिय दैनिक पत्रिकामा छाप्नुपर्ने भनी बाध्यकारी बनाइएका सूचना तथा विज्ञापनहरू दर्ता÷सञ्चालन रहेका जुनसुकै सञ्चारमाध्यममा प्रकाशन/प्रसारण गर्न पाइने नीतिगत तथा कानुनी व्यवस्था गर्न जोडदार माग गर्दछ ।
९) यो साधारणसभा सञ्चारकर्मीले खरिद गर्ने सञ्चार सामग्री अनुदान र पत्रकार सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटका लागि नीतिगत पहल गर्न माग गर्दछ ।
१०) यो साधारणसभा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल लगायतका निकायबाट प्रदान गरिने पत्रकार वृत्तिविकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार/सम्मानलाई पारदर्शी, समावेशी बनाउन र त्यसको सूचना समयमै सबैले प्राप्त गर्नेगरी प्रवाह गर्न माग गर्दछ ।
११) यो साधारणसभा सञ्चारमाध्यमहरू सरकार मातहतका कुनै एक निकायमा दर्ता भइसकेपछि त्यसलाई अन्यत्र समेत (सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, सञ्चार रजिष्ट्रारको कार्यालयलगायत)मा दर्ता/नवीकरण गरिरहनुपर्ने झण्झटिलो व्यवस्था तत्काल खारेज गरी कुनै एक ठाउँको दर्तालाई नै आधार मानी कामकारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
१२) यो साधारणसभा श्रमजीवी पत्रकार ऐन, २०५२ पूर्णरूपमा कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले भर्खरै सिफारिस गरेको श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न सरोकारवाला सबैसँग जोडदार माग गर्दछ ।
१३) विभिन्न तह र निकायबाट संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध हुनेगरी विभिन्न ऐन, कानुन, नीति/नियमावली बनाउने कार्य भइरहेकोप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यो साधारणसभा यस्ता कार्य तत्काल रोक्न माग गर्दछ ।
१४) यो साधारणसभा प्रत्यक्ष वा परोक्षरूपमा नेपाली सञ्चारमाध्यममा हुने वैदेशिक लगानी र हस्तक्षेप रोक्न जोडदार माग गर्दछ ।
१५) यो साधारणसभा महिला, दलित, जनजाति तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष ध्यानाकर्षण गराउँदछ । साथै सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गर्दछ ।
१६) यो साधारणसभा देशभरका श्रमजीवी पत्रकारलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा अनिवार्य लागु गर्न माग गर्दछ । साथै देशभरका अस्पतालमा पत्रकार र तीनका परिवारको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्दछ ।
१७) यो साधारणसभा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि विचलित नभइकन कानुनी कारबाही गर्न माग गर्दछ । साथै मिटर ब्याजी पीडितको समस्या, भ्रष्टाचारका मुद्दा, प्रदेश नामकरणको विषयलाई लिएर प्रदेश नम्बर एकमा चलिरहेको पहिचानको राजनीतिक आन्दोलन लगायतलाई उचित सम्बोधन गर्न माग गर्दछ ।
१८) यो साधारणसभा उपत्यकामा रहेको धार्मिक पर्यटकीय क्षेत्र शङ्खरापुर–साँखु–शालिनदीको गुरुयोजना बनाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास र प्रबद्र्धन गर्नको लागि साँखुलाई साँस्कृतिक शहर घोषणा गर्न सरकारसँग माग गर्दछ ।
१९) प्रेस सेन्टर नेपाल आन्तरिक कमीकमजोरीलाई सुधार गरी सङ्गठनलाई चुस्त, दुरुस्त बनाई मुलुककै सबैभन्दा ठुलो, सबैको साझा र विश्वासिलो सङ्गठन बनाउने दृढता व्यक्त गर्दछ ।
आभार
यो साधारणसभा सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रेस सेन्टर नेपाल शङ्खरापुर शाखा, नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगरकमिटी, स्थानीय युवा, व्यवसायी, व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने प्रेस सेन्टर बाग्मती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेश, प्रमुख आतिथ्यसहित मार्गनिर्देशन गर्नुहुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्णबहादुर महरा, सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालगायत अतिथिहरू प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछ ।
घोषणापत्र मस्यौदा समिति
१) उदय जीएम – संयोजक
२) विदुर खड्का – सदस्य
३) प्रतिक इच्छुक शर्मा – सदस्य
४) लक्ष्मी पौडेल – सदस्य
५) राजु वि.क. – सदस्य
६) रञ्जन यादव – सदस्य
७) अप्सरा समाल – सदस्य
Facebook Comments