दाङ / नेपाली कांग्रेस दाङले स्थापना दिवस तथा संयोगले जनआन्दोलन दिवसकै दिन प्रथम जिल्ला सम्मेलन सम्पन्न गरेको थियाे । सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गरेका थियाे । जिल्लाका एक सय वडामध्ये ८६ वटा वडाको सम्मेलनसँगै पालिका सम्मेलन, प्रदेश क्षेत्र सम्मेलन तथा क्षेत्रीय सम्मेलन गरी जिल्ला सम्मेलन सम्पन्न गरिसकेकाे छ ।
लुम्बिनी प्रदेशका बाह्र जिल्लामध्ये हालसम्म तीनवटा जिल्लाले मात्रै जिल्ला सम्मेलन गरेका छन् । सम्मेलनको उद्घाटनका क्रममा प्रमुख अतिथि तथा पार्टी महामन्त्री गगन थापाले केन्द्रीय समितिको निर्देशनवमोजिम विधिवत रूपमा वडा तहदेखि नै जिल्ला सम्मेलन गर्ने दाङ पहिलो जिल्ला भएको बताउँदै बाँकी रहेका वडाहरूलाई पनि चाँडै सम्मेलन गरी जिल्ला सम्मेलनलाई सबैभन्दा भव्य र सभ्य भन्नलायक बनाउन आग्रह गरे ।
कम्तिमा दुई हजारको संख्यामा उपस्थित नेता कार्यकर्ता बीचको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले मुलुकको अर्थतन्त्र अहिले समस्याग्रस्त मात्र नभएर संकटग्रस्त नै हुन थालेको अभिव्यक्ति दिए । यसलाई माथि उकास्न अब कांग्रेसको अहम भूमिका हुने बताए । त्यसका लागि आन्तरिक रोजगारी, प्रतिव्यक्ति आम्दानीकाे वृद्धि तथा मुलुकमै औद्योगिक विकास र आर्थिक क्षेत्रमा लगानी का सम्भावनाहरू खोज्नेपनि उपाय कांग्रेसले खोज्ने बताए ।
साथै उनले अहिले मुलुकमा जनता सबैभन्दा निराश भएको बताउँदै जनताको निराशालाई सम्बोधन गर्न बेस्ट लिडरसिपको खाचो रहेको बताए । ‘मन्त्रालयका सचिवले भनिरहेका छन्, ढुकुटी सकिएर तलव खुवाउन मुस्किल छ, अर्थमन्त्रालयका सहसचिवले भनिरहेका छन्, अब वृद्धभत्ता कटौती गर्नुपर्छ रे’, यो अवस्था आउँदासम्म मन्त्रालयले के हेरेर बसिरहेको थियो’, गगनको प्रतिप्रश्न थियो । अर्थतन्त्र धरापमा परेको जानकारी नदिने, कसरी बिग्रियो भन्ने जानकारी पनि नदिनेलाई अब लिडरसिपले सम्हाल्ने बताए ।
अर्को फरक प्रसङ्गमा पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नेतृत्व चयनको अधिकार समेत सबैभन्दा तल्लो तहलाई दिलाउने गरी नेपाली कांग्रेसको विधान संशोधन गर्न आफूहरू लागिपरेको उनको अभिव्यक्ति थियो । साथै दाङ जिल्लाको आर्थिक विकाससँग सम्बन्धित सबै मुद्दाहरूलाई यहाँका सांसदहरूसँग सरसल्लाह गर्ने पनि उनले बताए ।
‘मैले लगाएको जनै समेत चाइनाबाट आयात गरिएको हो, खेतीयोग्य जमिन हुँदाहुँदै पनि हामीले खर्ब मूल्यको खाद्यान्न विदेशबाट आयात गरिरहेका छौँ, खाली हामीले बेचेका छौँ, फ्री भिसा र फ्री टिकटका नाममा नेपाली युवालाई खाडी मुलुकहरूमा’, महामन्त्री थापाले भने । उनले पार्टीलाई जोगाउन माथिल्लो तहका नेतृत्वको सुझावदेखि युवाहरूको अर्थपूर्ण सहभागिताका लागि पनि समन्वयात्मक भूमिका निर्वाह गर्न जिल्ला नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि, निर्वाचन क्षेत्र नम्बर ३ का सांसद, केन्द्रीय सदस्य तथा पूर्व सिंचाइमन्त्री दीपक गिरीले यहाँको चारलेन सडकको दूरावस्था, टरिगाउँ विमानस्थलको स्तर वृद्धि, लमही कोइ -लाबास सडक पक्की बनिसकेपछि पनि कोइलाबास भन्सार सञ्चालनमा नआउनु तथा तुलसीपुर रक्षाचौर सडक चाँडो सम्पन्न नहुनु दुःखद् भएको भन्दै अब पार्टी केन्द्रीय समिति तथा संसद्मा समेत आवाज उठाउने अभिव्यक्ति दिए । उनले टरिगाउँ विमान स्थल को धावनमार्गको विस्तारसँगै कोइलाबास भन्सार सञ्चालनमा ल्याउन आफूले सोमवारको संसद्मा आवाज उठाउने समेत बताए ।
‘बाँझो खेत देख्दा मेरो मन दुख्छ, किसानले खेतीपातीको समयमा मल नपाउँदा मेरो मन दुख्छ, सरकारको संसदमार्फत् गम्भीर ध्यानाकर्षण गराउनेछु’, विशिष्ट अतिथि गिरीले भने । उनले अब राजनीतिक बहसभन्दा पनि आर्थिक समृद्धि र विकासका मुद्दाहरूमा बहस हुनुपर्ने बताए ।
जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय नेता डिल्लीबहादुर चौधरीले विकासका मुद्दालाई पहिलो धारमा राखेर, त्यसपछि मात्र पार्टीको संगठन विस्तार र कार्यकर्ता लाई सुरक्षित राख्न पार्टीले नयाँ रणनीति बनाउनुपर्ने बताए ।
सरकारका गतिविधिप्रति जनताको आत्मविश्वास टुटेको भन्दै जनतालाई पार्टीको मूलधारमा ल्याएर पार्टी र सरकारप्रतिको धारणा परिवर्तन गर्न आफूले पहल गर्ने उनको अभिव्यक्ति थियो । उनले विकास र समृद्धिबाट मात्रै जनतालाई पार्टीसँग जोड्न सकिने भन्दै सुशासन र पारदर्शितामा जनप्रतिनिधि पनि गम्भीर हुनुपर्ने अभिव्यक्ति दिए ।
जिल्ला सम्मेलनमा जिल्ला नेतृत्वले ठूलो मिहिनेत गरेर विभिन्न प्रतिवेदनहरू एउटै किताबमा राखेर सम्मेलनमा बाँडिएको थियो । त्यसमा जिल्लाको पहिलो कांग्रेस सभापति कुन भन्ने विषयमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले यथार्थ बुझेर करेक्शन गर्न सुझाव दिएका थिए भने महासमिति सदस्य कमलकिशोर घिमिरेले पनि उस्तै अभिव्यक्ति दिएका थिए । कुनै बेला रूख होइन मुख हेर्ने अवस्थामा आएको कांग्रेसमा अहिले पनि गुटबन्दीको अवस्था उस्तै छ ।
कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीको विधान परिवर्तन गर्न केन्द्रीय नेतृत्वलाई सुझाव दिएका थिए । त्यस्तै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पनि अब राजनीतिलाई विकास र समृद्धिसँग जोडेर भिन्नै बहस गर्नुपर्ने सुझाएका थिए । ‘अब राजनीतिक भाषणका पछि जनता लाग्ने अवस्था छैन, जनतालाई समृद्धिसँग जोड्न नयाँ बहस आवश्यक छ’, योगेन्द्र चौधरीले भने ।
कार्यक्रममा राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले कांग्रेसले नेतृत्व गरेका आन्दोलनले धेरै पटक व्यवस्था बदलिए पनि नागरिक का अवस्था नबदलिएको बताइन् । जनताको अवस्था बदल्न अब आर्थिक आन्दोलनका लागि पार्टी नेतृत्व वफादार भएर लाग्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा युवा नेता तथा स्वर्गीय नेता खुमबहादुर खड्काका पुत्र प्रदेश सभा सभासद अनुराग खड्काले राजनीतिको ट्रेन्डलाई बदल्न र युवा आकर्षित कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
