दाङ, २५ चैत्र । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरमा सञ्चालित राजविद्या पाठशालाले ‘ राजविद्या मेधावी छात्रवृत्ति २०८०’ घोषणा गरेको छ ।
शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी विद्यालयले ‘राजविद्या मेधावी छात्रवृत्ति २०८०’ को घोषणा गरेको हो ।
घोषित छात्रवृत्ति अन्तर्गत विद्यालयले २०८० सालमा ३ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सरकारले निर्धारण गरेको १० प्रतिशत छात्रवृत्ति सरकारले तोकेकै मापदण्ड अनुसार विद्यालयले प्रदान गर्दै आएको छ । यसका अतिरिक्त यस शैक्षिक सत्रदेखि विद्यालयले सामाजिक तथा शैक्षिक उत्तरदायित्वलाई अझ फराकिलो बनाउँदै ‘राजविद्या मेधावी छात्रवृत्ति’ पनि प्रदान गर्ने भएको छ ।
विपन्न तथा जेहन्दार विद्यार्थीका लागि तय गरिएको छात्रवृत्तिका लागि विद्यालयले शैक्षिक सत्रको सुरुवातमा प्रवेश परीक्षा लिने छ । जसमा कक्षा ८ मा अध्ययन गर्नका लागि विद्यार्थीले परीक्षा दिनुपर्ने छ । शैक्षिक सत्रको सुरुवातमै लिइने प्रवेश परीक्षामा सहभागी हुनका लागि विद्यालय दरखास्त आह्वान गर्ने छ । परीक्षामा सहभागी विद्यार्थी मध्येको उत्कृष्ट ३ छनौट हुने गर्दछन् । यी तीन जनालाई उपलब्ध गराइने छात्रवृत्ति पनि दुई जना उत्कृष्ट विद्यार्थीले प्राप्त गर्नेछन् भने एक जना जेहेन्दार, विपन्न, दलित, जनजाति तथा आदिवासी कोटाका आधारमा उपलब्ध गराइनेछ । उत्कृष्ट दुईमा छनौट हुनका लागि कम्तिमा ८५ प्रतिशत र जेहेन्दार, विपन्न, दलित, जनजाति तथा आदिवासी कोटाका आधारमा छनौट हुनका लागि ७५ प्रतिशत अङ्क प्राप्त गरेकै हुनुपर्ने प्रावधान रहेको छ । उत्कृष्ट ३ विद्यार्थीलाई कक्षा ८ बाटै निःशुल्क अध्ययन गराउँदै कक्षा १० सम्म शत प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । विपन्न वर्गको कोटामा दरखास्त दिनका लागि अनिवार्य रुपमा सम्वन्धित वडा कार्यालयबाट सिफारिस लिनु पर्नेछ । यस छात्रवृत्तिमा यसै विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु पनि सहभागी हुन पाउनेछन् ।
पत्रकार सम्मेलनमा विद्यालयका आगामी शैक्षिक गतिविधि र रणनीतिका बारेमा प्रिन्सिपल टीकाजंग बिकेले जानकारी दिएका थिए ।
साथै पत्रकार सम्मेलनमा विद्यालयले पत्रकारकार महासंघलाई फुटबल ड्रेस पनि उपलब्ध गराएको थियो ।
विद्यालयका प्रिन्सिपल तथा सञ्चालक समितिका अध्यक्ष टीकाजंग बिकेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन, नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका डाइरेक्टर आदिम केसीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
