माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।
द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया गर्न थालेका छौँ । द्वन्द्वरत पक्ष र विपक्ष दुवै राखेर छलफल हुने छ । अरू सरोकारवाला निकायलाई समेत बोलाएको छ’ बुढाले भने, ‘सबैपक्षसँग अन्तर्क्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको हो ।’ शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको बुढाले बताए ।
माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
