यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
“परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।”
उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो ।
एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताउनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताउनु भयो ।
त्यस्तै, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उहाँको भनाइ छ ।
करिब पाँच लाख परीक्षार्थी
एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिनुभयो ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेश प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
