• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सङ्घीयता महँगो भयो भन्नु सही होइन: मन्त्री शर्मा




तनहुँ, २७ फागुन । सन्चार तथा सूचना प्रविधी मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीयता महँगो भयो भन्नु सही नभएको बताउनुभएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहमा जुन मर्मका साथ अधिकार बाडफाड गरिएको छ, यसको तुलनामा सङ्घीयता महँगो भयो भन्नु सही नहुने बताउनुभएको हो ।

पहिले केन्द्रमा ६०/६५ जनासम्म मन्त्री बन्नेदेखि ठूलो संख्यामा गाविस र नगरपालिकाहरु रहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयनपछि सङ्घमा २५ भन्दा बढी राख्न नपाउने र त्यतिबेलाका धेरै गाविस मिलाएर गाउँ वा नगरपालिका बनाएको पाटो बिर्सन नहुने धारणा राख्नुभयो ।

केन्द्रमा रहेको अधिकार गाउँगाउँमा पुर्याउनु नै सङ्घीयताको मूल मर्म रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो- त्यसैले त हामीले यसलाई गाउँगाउँमा सिंहदरवारको रुपमा व्याख्या गरेका छौं । कहिँ कसैले गल्ती गर्न गर्नसक्छन् तर त्यसको आधारमा सघीयताको बिरोध गर्नु सही हुँदैन, यो जनतालाई अधिकारसम्पन्न बनाउने शासकीय बिकेन्द्रीकरणको प्रगतिशील प्रणाली हो ।

तीनै तहका सरकारले संविधानप्रदत्त अधिकार प्रयोग गर्नसक्ने हो भने देश विकासले फड्को मार्ने पनि उहाँले बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारको पहिलो कार्यकाल पूर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेकाले अहिले सुरु भएको दोस्रो कार्यकालका जनप्रतिनिधिले राम्रो काम गरेर सङ्घीयता सही भएको पुष्टि गर्ने अवसर भएकोमा पनि मन्त्री शर्माले जोड दिनुभयो ।

स्थानीय सरकार मूलतः जनताको सुखदुखको साथी भएकाले उनीहरूले जनताकै पीरमर्कामा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, उत्पादन वृद्धि, भूमि व्यवस्थापनलगायतका क्षेत्रमा आबुखैरेनी गाउँपालिकाले गरेको सुरुवातप्रति खुशी व्यक्त गर्दै मन्त्री शर्माले यसबाट संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफू निर्वाचित भएको सात महिनामै गत मङ्सिरमा अस्पताल उद्घाटन गरिएको जानकारी दिदै निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरिएको बताउनुभयो । अब पालिकामा कुनै गाडी खरिद नगरी पालिका स्कुल बस खरिदका लागि सहयोग जुटाउने अभियानमा लागेको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ, शिक्षा, उत्पादन वृद्धि, सुकुम्बासी समस्या समाधान र पर्यटन प्रबर्द्धनमा ध्यान केन्द्रित गरिएको अध्यक्ष चुमानले जानकारी गराउनुभयो ।

पालिकाले स्थापना दिवसको अवसरमा पालिकाभित्र गाउँ पन्चायत स्थापनादेखि गाविस, पालिका हुँदै आजका दिनसम्म राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यवसायलगायत सबै क्षेत्रमा नयाँ कामको सुरुवात गर्ने सस्थापकहरुलाई सम्मान गरेको थियो ।

Facebook Comments