• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेविसंघको लक्ष्य संगठन निर्माण र स्ववियु निर्वाचन : अध्यक्ष पोख्रेल [अन्तर्वार्ता]




करिव १५ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको छ । स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते मिति घोषणा भएसँगै स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा विद्यार्थी संघसंगठनले चहलपहल बढाएका छन् ।

संगठन निर्माणदेखि प्रचारप्रसारका काम गरिरहेका छन् । नेपाल विद्यार्थी संघ दाङको नेतृत्व कुलराज पोख्रेलले सम्हालेपछि नेविसंघको मुख्य लक्ष्य स्ववियु निर्वा चन भएको बताएका छन् । त्यही लक्ष्य र उद्देश्यअनुसार स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा इकाई समिति गठनसँगै स्ववियु निर्वाचनमा विद्यार्थीहरूलाई सहभागी गराउने अभियानमा जुटेका छन् ।

यससँगै लामो समय सुस्ताएको नेपाल विद्यार्थी संघलाई चलायमान बनाउने जिम्मेवारी समेत रहेको छ । यसै सन्दर्भमा स्ववियु निर्वाचनको तयारी र नेपाल विद्यार्थी संघको आगामी योजनाका सम्बन्धमा नेपाल विद्यार्थी संघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलसँग लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

आगामी चैत ५ मा स्ववियु निर्वानको मिति तय भएको छ, नेविसंघले चुनावको तयारी कसरी गरिरहेको छ ?

– लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ । २०६५ सालपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको थिएन । अहिले आगामी चैत ५ गते स्ववियुको निर्वाचन घोषणा गरिएको छ । त्यसको तयारीमा नेपाल विद्यार्थी जुटेको छ । भर्खरै नेविसंघ केन्द्रले स्ववियु निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण भेला दाङको घोराहीमा सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रम सकेपछि हामी जिल्लामा स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा स्ववियुको निर्वाचन लक्षित रणनीति बनाउन सक्रिय भएका छौँ । यसै सन्दर्भमा स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा नेविसंघको अवस्था, जित्ने आधारलगायतका विषयहरूलाई नेपाल विद्यार्थी संघका इकाईसँग सम्वाद, छलफल गरिरहेका छाँै ।

त्यसका आधारमा निर्वाचनका लागि थप कार्यक्रम र रणनीति बनाएर अघि बढ्नेछौँ । साथै स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा नेविसंघमा आबद्ध साथीहरू आन्तरिक रूपमा निर्वाचनका लागि जुटिरहनुभएको छ । उम्मेदवारहरूको टुङ्गो लागेपछि यो कार्यलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने छौँ ।

 लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा नेविसंघले जित्ने आधारहरू के–के छन् ?

– नेपाल विद्यार्थी संघ प्रजातन्त्रवादी विद्यार्थीहरूको संगठन हो । नेविसंघ लामो समयदेखि विद्यार्थीको हकहितसँगै शैक्षिक सुधारका लागि संघर्ष गर्दै आएको संगठन हो । त्यसैमा दाङ कांग्रेस तथा नेविसंघका लागि उर्वरभूमि पनि हो । यस हिसाबले पनि हामी निर्वाचन जित्ने अवस्थामा छौँ ।

साथै दाङसहित साविक राप्ती अञ्चलका विद्यार्थीहरूले अध्ययनरत गर्ने महेन्द्र बहुमुखी क्याम्पस, तुलसीपुर स्थित राप्ती बहुमुखी क्याम्पस, बिजौरी क्याम्पसलगायत विभिन्न क्याम्पसहरूमा विद्यार्थीहरूको हकहितका लागि स्ववियु रहँदा होस् वा नहुँदा नेपाल विद्यार्थीहरूले निरन्तर रूपमा विद्यार्थीहरूको पक्षमा काम गर्नेदेखि विद्यार्थीहरूलाई संगठित गर्दै आएको छ । साथै विभिन्न शैक्षिक तथा खेलकुदका कार्यक्रमहरू गरेर विद्यार्थीहरूको मन जित्ने काम नेपाल विद्यार्थी संघले गर्दै आएको छ ।

विगतदेखि विद्यार्थीहरूको साझा मुद्दामा केन्द्रित रहेर भूमिका निर्वाह गर्दै आएको नेपाल विद्यार्थी संघको यो भूमिकाको प्रभाव उल्लेखनीय छ । यसकारण पनि नेपाल विद्यार्थी संघ सम्पूर्ण विद्यार्थीहरूको मत जित्न सफल संगठनका रूपमा देखिएको छ र आगामी निर्वाचनमा पनि विद्यार्थीहरूको मत जित्न सफल हुनेछौँ ।

स्ववियु निर्वाचनमा गठबन्धन गरेर जाने तयारी भइरहेको चर्चा छ, तालमेललाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

– अहिलेसम्मको परिस्थितिलाई हेर्ने हो भने नेविसंघ एक्लै स्ववियु निर्वाचनको तयारीमा जुटेको छ । त्यहीअनुसार जिल्लाका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा तयारी पनि गरिरहेका छौँ । विद्यार्थी भर्ना, भर्ना भएका विद्यार्थीहरूलाई परिचय–पत्र बनाउनेदेखि स्ववियु निर्वाचनका बारेमा प्रचारप्रसार समेत गरिरहेका छौँ ।

यद्यपि नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा नेविसंघ रहेको छ । राष्ट्रिय राजनीतिमा विकास भएको पछिल्लो घटनाक्रमले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा प्रभाव पर्ने देखिन्छ । त्यसैअन्तर्गत केन्द्रमा दलहरूसँगै विद्यार्थी संगठनका बीचमा स्ववियु निर्वाचनलाई लिएर छलफल भएको कुरा सुन्नमा आएको छ ।

जसले गर्दा भोलि केन्द्रबाटै गठबन्धन गर्ने सहमति भयो भने त्यहीअनुसार अघि बढ्ने, होइन भने एक्लै प्रतिष्पर्धा गर्ने तयारी अनुसार नेविसंघले जिल्लामा तयारी गरिरहेको अवस्था छ । तालमेल गर्नुपर्ने अवस्था आयो भने हामी गठबन्धनमा आबद्ध हुने विद्यार्थी संगठनहरूका बीचमा एकमत हुनेछ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल उचित ढङ्गबाट कार्यान्वयन भयो । सोही अनुसार तालमेलको सहज व्यवस्थापन गरेर नेविसंघ पनि अघि बढ्ने छ ।

नेविसंघलाई नेपाली कांग्रेसको नर्सरीका रूपमा लिने गरिन्छ तर नर्सरीकै रूपमा रहेको नेविसंघमा निर्वाचन नहुने र नेतृत्वविहीनजस्तै अवस्थामा रहँदा नेविसंघसँगै कांग्रेस कमजोर भयो भन्ने गुनासो सुनिन्छ ? यस्तो अवस्थामा नेविसंघसँगै कांग्रेस बलियो पार्टीका रूपमा बनाउन तपाईँको भूमिका के रहन्छ ?

– नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन हो । त्यसैले नेविसंघलाई कांग्रेसको नर्सरीका रूपमा लिने गरिन्छ । नर्सरीलाई हराभरा बनाउनुपर्छ । यसो गरियो भने नेविसंघ सँगसँगै माउ पार्टीलाई पनि फाइदा पुग्ने देखिन्छ । तर विभिन्न कारणले लामो समयदेखि नेविसंघमा निर्वाचन हुनसकेको छैन । जसले गर्दा विद्यार्थीमा एक खालको निराशा छ । तथापि नेविसंघको निर्वाचन नभएका कारण पार्टी कमजोर भएको चाहिँ होइन । नेविसंघको निर्वाचन भएर नयाँ नेतृत्व नआएको भए पनि हामी सबै नेविसंघकर्मीहरू पार्टीका हरेक अभियानमा सहभागी भइरहेका थियौँ र छौँ पनि ।

पार्टीले नेपाल विद्यार्थी संघको निर्वाचन गर्नेदेखि आउँदै गरेको स्ववियु निर्वाचनलाई मध्यनजर गरेर नेपाल विद्यार्थी संघ केन्द्रमा दुजाङ शेर्पालाई नेतृत्व दिएपछि विद्यार्थीमा ठूलो आशा पलाएको छ । यसले जिल्लाका नेविसंघका साथीलाई ठूलो उर्जा प्रदान गरेको छ । केन्द्रले जिल्लाहरूमा नेतृत्व तोकेपछि संगठन चलायमान र गतिशील बनाउने काम भएका छन् ।

नेविसंघ दाङको नेतृत्वमा म आएपछि नेविसंघको जिल्ला कार्यसमितिलाई विस्तार गर्नेदेखि विभिन्न क्याम्पसहरूमा संगठन निर्माणको अभियानलाई अघि बढाएका छौँ । विद्यार्थीहरूमा उर्जा थप्ने काम गरेको छ । लामो समयपछि नेविसंघ गठन हुँदा धेरैभन्दा धेरै विद्यार्थीहरू संगठनमा आबद्ध भइरहनुभएको छ । तर लगत्तै स्ववियु निर्वाचन आउँदै गरेकाले हाम्रो अहिलेको मुख्य टार्गेट स्ववियु निर्वाचन रहेको छ । त्यहीअनुसार स्ववियु निर्वाचनमा जित हासिल गर्ने गरी स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा प्रचारप्रसार, संगठन निर्माणदेखि छलफलका गतिविधिलाई तीव्रता दिएका छौँ ।

 नेविसंघमा विद्यार्थीहरूको समानुपातिक सहभागिता गराइ संगठनलाई चुस्त बनाउने तपाईँको योजना के हो ?

– नेविसंघ प्रजातन्त्रवादी विद्यार्थीहरूको साझा संगठन हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्था राख्ने सबै क्षेत्र, समुदाय र वर्गका विद्यार्थीहरू नेविसंघमा आबद्ध हुन सक्नुुहुन्छ । त्यही अनुसार दाङमा नेविसंघलाई अघि बढाउने तयारीमा छौँ । म जिल्ला नेतृत्वमा आएपछि घोराही, तुलसीपुर र देउखुरी क्षेत्रलाई समेटेर नेपाल विद्यार्थी संघको संगठन विस्तार गर्ने कार्य गरेहका छौँ ।

नेविसंघलाई सबै क्षेत्र, समुदाय, वर्गका विद्यार्थीहरूको साझा संगठन बनाउनुका साथै जिल्लामा प्रमुख विद्यार्थी संगठनका रूपमा अघि बढाउने योजनामा छौँ । क्याम्पस, विद्यालयहरूमा नेविसंघलाई विस्तार गर्ने र प्रजातन्त्रवादी शक्तिलाई बलियो बनाउने अभियानमा हाम्रो ध्यान रहने छ । त्यसका लागि हाम्रो मूलपार्टी नेपाली कांग्रेसको नेतृत्वसँगै नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्व, जिल्लामा रहनुभएका अग्रज सबैसँग सरसल्लाह, छलफल गरेर आगामी दिनहरूमा अघि बढ्ने योजनामा छौँ । त्यसका लागि सबैको साथ र सहयोग प्राप्त गर्नेछौँ भन्ने अपेक्षा रहेको छ ।

 अन्त्यमा के भन्नुहुन्छ ?

– नेविसंघ प्रजातन्त्रवादी विद्यार्थी संगठन हो । नेपालको राजनीतिक परिवर्तनसँगै शैक्षिक सुधारका लागि नेपाल विद्यार्थी संघको महत्वपूर्ण भूमिका रहँदै आएको छ । क्याम्पस तथा स्कूलहरूमा विद्यार्थीको हकहितका लागि नेविसंघ विगत लामो समयदेखि लाग्दै आएको छ । यसै सन्दर्भमा विद्यार्थीको हकहितका लागि भूमिका खेल्नुपर्ने ठाउँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ ।

यो निर्वाचनमा नेपाल विद्यार्थी संघको जितका लागि सबैको सहयोगको अपेक्षा गर्दछु र २०६५ सालपछि पहिले पटक हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँगै नेपाल विद्यार्थी संघ जिल्लाको अवस्था र आगामी योजनाका बारेमा आफ्नो धाराना राख्ने अवसर दिएकोमा धेरै धेरै धन्यावाद ज्ञापन गर्न चाहन्छु ।

Facebook Comments